• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

समाजका अभिभावक लामिछानेको अश्रुपूर्ण बिदाइ

बागलुङ । समाजमा समस्या पर्दा सबैभन्दा पहिले सम्झिने नाम, विपद्का बेला भरोसाको केन्द्र, शिक्षाको अभियानका अग्रदूत, धार्मिक तथा सामाजिक विकासका अथक अभियन्ता र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका पूर्व जिल्ला सभापति जब्बर बहादुर लामिछानेलाई मंगलबार हजारौं शोकाकुल बागलुङवासीले अन्तिम बिदाइ गरेका छन् ।

काठेखोला गाउँपालिका–६ दोबिल्लास्थित निवासबाट सुरु भएको शवयात्रा बागलुङ नगरपालिका–१ निरहेघाट पुग्दासम्म मानौं एउटा समाज नै सडकमा उत्रिएको दृश्य देखिन्थ्यो । गाउँ–सहर, विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, शैक्षिक प्रतिष्ठान, धार्मिक संस्था, रेडक्रसकर्मी, व्यवसायी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारण गरी हजारौं व्यक्तिले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।जीवनभर अरूको दुःखमा साथ दिएका लामिछानेलाई अन्तिम बिदाइ गर्न उम्लिएको जनसागरले लामिछाने केवल एउटा व्यक्ति नभई बागलुङ समाजको साझा अभिभावक रहेको सन्देश दिएको थियो । असार २८ गते पर्वतको कुश्मामा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी भएर पञ्चेबाजाको तालमा रमाइरहेका बेला एक्कासी हृदयाघात भएपछि उपचारका क्रममा उहाँको निधन भएको थियो ।

मृत्युको खबर सार्वजनिक भएलगत्तै देश–विदेशबाट शोक सन्देशको ओइरो लागेको थियो । मौसमका कारण सडक अवरुद्ध र हवाई उडान प्रभावित हुँदा काठमाडौंबाट आउदै गरेका कान्छो छोरा सुवास लामिछाने समयमै घर पुग्न नसकेपछि अन्त्येष्टि कार्यक्रम केही समय ढिला भएको थियो । दिनभर प्रतिक्षा गरेर पनि आफन्तजन, शुभेच्छुकहरुले लामिछानेप्रति देखाएको भावनात्मक र सहभागितात्मक सन्देशले उहाँको योगदान, सहृदयी भावना र व्यक्तित्वलाई स्मरण गरिरहेको थियो । निरहेघाटमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय लामिछानेका कान्छा छोरा सुवास लामिछाने, छोरी शुष्मा लामिछाने खड्का, बुहारीहरू पद्मा लामिछाने र पार्वती खड्का लामिछाने, नातिनीहरू सुवासी र यूराज्ञी तथा नाति सुप्रिम लामिछानेले संयुक्त रूपमा दागबत्ती दिँदै अन्तिम संस्कार सम्पन्न गरेका थिए ।

समाजसेवा र मानवीय सेवामा पु¥याएको योगदानको सम्मानस्वरूप उहाँको पार्थिव शरीरमा विश्व हिन्दु महासंघ नेपाल, नेपाल रेडक्रस सोसाइटी र क्षेत्री समाज बागलुङको झण्डा ओढाइएको थियो । विश्व हिन्दु महासंघका केन्द्रीय सहअध्यक्ष शंकर खराल, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य तथा क्षेत्री समाज बागलुङका अध्यक्ष रुद्रबहादुर महतले झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले एक आपस र धेरै जनाले सामाजिक सञ्जालमार्फत भनेका छन्,– ‘जब्बर बहादुर लामिछाने अब एउटा व्यक्तिको नाम मात्र होइन, समाजसेवाको एउटा युग हुन् ।’

रेडक्रससँग नाम जोडिँदा बागलुङमा सबैभन्दा पहिले सम्झिने व्यक्तिमध्ये एक लामिछाने शिक्षाको विकासमा पनि उत्तिकै सक्रिय रहनु भयो ।
युवा अवस्थामै भीमसेन माध्यमिक विद्यालय स्थापनाको अभियानमा नेतृत्वदायी भूमिका खेलेका उहाले पछि भीमसेन क्याम्पसको नेतृत्व गर्दै उच्च शिक्षाको विस्तारमा महत्वपूर्ण योगदान गर्नु भयो । धार्मिक आस्था र सामाजिक विकासलाई सँगसँगै अघि बढाउने सोचका कारण मठ–मन्दिर संरक्षणदेखि सडक, विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक पूर्वाधार निर्माणसम्म उहाको सक्रिय उपस्थिति रहन्थ्यो ।सरकारले पुल निर्माणका लागि बजेट विनियोजन नगरिदिएपछि २०६० सालमा भीमसेन मावि विहुमा धान्याञ्चल लगाएर दोविल्लामा पुल निर्माण गर्ने अभियानको अगुवाई गरेका लामिछाने आध्यात्मिक चिन्तन मार्फत भौतिक विकासमा विश्वास गर्नु हुन्थ्यो ।

समाजमा कसैको घरमा दुःख पर्दा, बिरामीलाई अस्पताल पु¥याउनुपर्दा, विपद् आइपर्दा, प्राकृतिक प्रकोपमा राहत जुटाउनुपर्दा वा सामाजिक विवाद समाधान गर्नुपर्दा सबैभन्दा पहिले पुग्ने व्यक्तिका रूपमा उहाँ परिचित हुनुुहुन्थ्यो । त्यसैले बागलुङवासीले उहालाई नेता वा संस्थाका अध्यक्षभन्दा बढी ‘समाजको अभिभावक’ भनेर सम्मान गरेको झलक अन्तिम श्रद्धाञ्जलीमा देखिएको सहभागिताबाट देख्न सकिन्थ्यो ।

उहाको निधनसँगै सामाजिक सञ्जाल श्रद्धाञ्जलीले भरिएको छ । कसैले ‘अभिभावक गुमायौं’ भनेका छन्, कसैले ‘दुःखमा साथ दिने मानिस गुम्यो’ भनेका छन् । कतिपयले उहाँलाई ‘हक्की तर न्यायप्रिय, ‘मानवताका पुजारी’ र ‘सेवाको पर्याय’ भनेर सम्झिएका छन् ।

मंगलबारको अन्त्येष्टिले एउटा तथ्य स्पष्ट पारेको छ, पदले होइन, कर्मले कमाएको सम्मान मृत्युपछि पनि जनसमुदायको उपस्थितिमा देखिन्छ । जीवनभर अरूका आँसु पुछ्ने व्यक्तिलाई बिदाइ गर्न हजारौं आँखाबाट आँसु झर्नु संयोग होइन, त्यो उहाँले कमाएको सामाजिक पूँजी थियो । जब्बर बहादुर लामिछानेको पार्थिव शरीर अग्निमा विलीन भएको छ, तर उहाँले समाजमा रोपेको सेवा, सद्भाव, शिक्षा, मानवीयता र विकासको बीउ भने बागलुङको सामाजिक इतिहासमा सधैं हरियाली बनेर बाँचिरहनेछ ।

स्वर्गीय लामिछानेकी श्रीमती दुर्गादेवी लामिछाने, छोराहरु सुनिल लामिछाने, सुवास लामिछाने, बुहारीहरु पद्मा लामिछाने र पार्वती लामिछाने, २ नातिनी, एक नाति, पाच दिदी बहिनीहरु सहितको रहेको छ ।