• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

बागलुङमा नेकपाको एकता बैठक : २१५ सदस्यीय जिल्ला अधिवेशन समिति घोषणा

बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय एकता बैठक बागलुङ बजारमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित विभिन्न घटकहरूबीच भएको एकता प्रक्रियालाई जिल्ला तहमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित उक्त बैठकले प्रकास घर्तीको संयोजकत्वमा २१५ सदस्यीय जिल्ला अधिवेशन समिति घोषणा गरेको हो । नवगठित समितिका सदस्यहरूलाई गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । गण्डकी प्रदेशको सर्कुलरअनुसार आगामी कात्तिक १२ गतेभित्र जिल्लाका सबै वडा, पालिका र प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरिएको छ । एकता बैठकपछि पालिकाहरू र वडाहरूको अधिवेशन प्रक्रियालाई तीव्रता दिइने र सदस्यता नवीकरणलगायतका साङ्गठनिक विषयमा अर्को बैठकबाट ठोस निर्णय लिइने इन्चार्ज कमल घिमिरेले जानकारी दिए । बैठकमा १० वटै स्थानीय तहका इन्चार्जहरूले आआफ्नो क्षेत्रको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन र थप सुदृढ बनाउन सम्पूर्ण कम्युनिष्ट शक्तिहरू एकता र सहकार्यको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला सहइन्चार्ज ज्ञामनाथ गैरे(अनिल)ले जिल्लाको आगामी कार्ययोजनाबारे प्रष्ट पारेका थिए भने नेकपाका केन्द्रीय सदस्यहरू चन्द्रबहादुर बुढा, बलावती शर्मा र गण्डकी प्रदेश संयोजक कृष्ण नेपाली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम जिल्ला सह संयोजक पिङ्गलराज गौतमको अध्यक्षता र केन्द्रीय सदस्य तथा जिल्ला कार्यालय सचिव टिका कुमारी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।