बागलुङ । बागलुङमा एक वर्षमा १२ हजार ५५१ सवारी कार्वाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा १२ हजार ५५१ सवारी कार्वाही गर्दा रु. एक करोड ६ लाख राजश्व संकलन भएको छ ।
सवारी कारवाही तथा राजश्व संकलन भने पछिल्लो तीन वर्षयताकै सबैभन्दा कम रहेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लङ्न गर्ने १२ हजार ५५१ सवारीसाधनमाथि कारबाही गर्दा एक करोड ६ लाख ४ हजार राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीका अनुसार कारबाहीमा सबैभन्दा बढी कार, जिप तथा भ्यान परेका छन् । यस अवधिमा ६ हजार ७०५ वटा कार, जिप तथा भ्यानमाथि कारबाही गर्दा ५९ लाख ९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, ९२२ वटा ट्रकमाथिको कारबाहीबाट ८ लाख ८६ हजार रुपैयाँ, ६७५ वटा बसबाट ५ लाख १३ हजार रुपैयाँ, ५५९ वटा ट्याक्टरबाट ४ लाख २४ हजार रुपैयाँ तथा २ हजार ५९० वटा मोटरसाइकलबाट २० लाख ३३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । अन्य १ हजार १०० वटा सवारीसाधनमाथिको कारबाहीबाट ८ लाख ३८ हजार रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ ।
तथ्यांकअनुसार ट्राफिक कारबाही र राजस्व दुवैमा कमी आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा १५ हजार ८५३ वटा सवारीसाधन कारबाहीमा पर्दा रु.एक करोड ३१ लाख ६० हजार राजस्व संकलन भएको थियो । त्यसअघि आर्थिक वर्ष २०८०÷८१ मा १६ हजार ३७८ वटा सवारीसाधनमाथि कारबाही गर्दा रु.एक करोड २१ लाख ७१ हजार ५०० राजस्व उठेको थियो ।
यस वर्ष कारबाहीमा परेका सवारीसाधनको संख्या र राजस्व दुवै घटेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले पछिल्लो तीन आर्थिक वर्षमध्ये सबैभन्दा कम राजस्व संकलन गरेको देखिएको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा १९ दुर्घटनामा १० जनाको मृत्यु, ३२ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० मा २५ वटा दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।
आर्थिक वर्ष २०८०÷०८१ मा १९ दुर्घटनामा १६ जनाको मृत्यु र ७० जना घाइते भएका थिए । आर्थिक वर्ष २०८१÷०८२ मा २६ वटा दुर्घटना भएकोमा २३ जनाको मृत्यु, ४८ जना घाइते भएका थिए ।
