बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सम्पन्न भएपछि अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि अनुसार सञ्चालन नभएको निष्कर्ष निकालेको जनाएको छ ।
रास्वपाका दुई निर्वाचित सांसदले घोषणा गरेको जिल्ला कार्यसमितिलाई रास्वपाको निर्वाचन आयोगले बदर गरेको छ । बागलुङ क्षेत्र नम्बर एकका सांसद सुसिल खड्का र क्षेत्र नम्बर दुईका सांसद सोम शर्माले बागलुङको गलकोटमा भएको जिल्ला अधिवेशनमा घोषणा गरेको जिल्ला कार्यसमितिको नेतृत्वलाई केन्द्रले मान्यता नदिएको हो । शर्मानै निर्वाचन समितिका संयोजक भएर घोषणा गरेको जिल्ला समितिलाई बदर गरिएको हो ।
सांसदद्वयले प्रक्रिया नपु¥याई जिल्ला समिति घोषणा भएपछि विरोध भएर केन्द्रको निर्वाचन आयोगमा उजुरी परेको थियो ।
यससँगै आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन भएको भनिएको जिल्ला कार्यसमितिको घोषणा पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको छ । साथै, जिल्ला अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधिअनुसार पुनः सञ्चालन गर्न निर्देशन दिएको छ ।
आयोगका प्रमुख भुवन केसीका अनुसार नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय आगामी सात दिनभित्र सार्वजनिक गरिनेछ । सोही निर्णयका आधारमा जिल्ला अधिवेशन सम्पन्न गरिने आयोगले जनाएको छ । केन्द्रीय निर्वाचन आयोगले उक्त निर्णयको जानकारी सम्बन्धित निकायहरूमा पठाइसकेको र तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।
२०८३ जेठ २३ गते गलकोटमा भएको प्रथम जिल्ला अधिवेशनबाट पुनम प्रसाद शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा भएपछि अर्का अध्यक्षका आकांक्षी ढालेन्द्र रायमाझी पक्षले अधिवेशनस्थलमै विरोध जनाएका थिए । केन्द्रमा प्रक्रियाको विषयमा उजुरी परेपछि स्थगनको सूचिमा बागलुङ परेको थियो ।