बागलुङ । नेपाली सुगम संगीतका अजर अमर गायक स्वर्गीय अरुण थापालाई बागलुङमा सम्झना गरिएको छ । स्वर्गीय थापाको २७ औं स्मृति दिवसको अवसरमा बागलुङमा अरुण स्मृति सांगितिक साँझ एवं मौलिक साँस्कृतिक कार्यक्रमको आयोजना गरी उनको सम्झना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ बागलुङले बागलुङको अरुण थापाको गितसँगै मगर संस्कार र संस्कृतीका विभिन्न गीतहरुमा नृत्य गरेरर उहाँको सम्झना गरे ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रतिनिधि सभा सांसद रेणुका काउचा मगरले नेपालका लोक संगीतप्रेमीका लागि अरुणथापा गायक मात्र नभएर नेपाली सुगम संगीतका अमर हस्ती भएको बताउनु भएको थियो । उहाँले थापाका गीत र स्वरमा गहिरो संवेदना, प्रेम पीडा र जीवनका अनुभूतिहरु झल्किने भन्दै उहाँ भौतिक रुपमा नभएपनि उहाँका गीतहरु अमर रहेको बताउनु भएको थियो । मगर विद्यार्थीहरुले हरेक वर्ष अरुण थापाको स्मृतीमा विविध कार्यक्रम गर्दै आउनु आपसी सदभाव र मगर एकताको संदेश भएको भन्दै उहाँले आगामी दिनमा समेतलाई यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो । उहाँले सांसदको हैसियतमा मगरका हक अधिकार, संस्कार संस्कृतीको सम्वद्र्धन र प्रर्वद्धनमा आफुले भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष दिलिप राना मगरले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ बागलुङले आयोजना गरेको देउसीभैलो कार्यक्रम २०८२मा सहभागी कलाकारलाई सम्मान गरिएको थियो । नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण बहादुर आले मगरको अध्यक्षतामा भएको सांगितिक साँझको सञ्चालन पत्रकार संगम घर्तीमगरले गर्नु भएको थियो ।
नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक अरुण थापाको जन्म विक्रम संम्वत २००९ साल माघ महिनाको ११ गते बुबा गुञ्जप्रसाद थापा मगर र आमा शान्ति थापा मगरको जेठो सन्तानको रुपमा भारतको कलकत्ता स्थीत नेपाली महावाणिज्य दुतावासमा भएको थियो । अरुण थापा मगरका बुबा गुञ्जप्रसाद थापा नेपाल बैंकमा वरिष्ठ अधिकृत हुनुहुन्थ्यो । त्यसैले उहाँले बालापन सुख सयलमै बिताउनु भयो ।
दुई भाई र एक बहिनीका दाजु अरुणको प्रारम्भीक शिक्षा जेपी हाईस्कूल ठमेलबाट शुरु भएको थियो । बालापन देखि नै स्वर्गीय गायक अरुण थापा मगरले किताबी ज्ञानभन्दा पनि गित संगीतमा रुचि राख्नुहुन्थ्यो र पौडी खेल्नमा पनि उहाँ सानै देखि निकै सौखिन हुनुहुन्थ्यो । विद्यालय तहको शिक्षा दार्जिलिङबाट हाँसिल गरेका अरुण थापा मगरले विक्रम संम्वत् २०२८ सालमा १९ वर्षको उमेर जेपी हाईस्कूल ठमेलबाटै एसएलसी पास गर्नुभयो । केहि समय विराटनगरको बैंकमा जागिरे समेत भएका अरुणले गित संगीत मोहकै कारण जागिर छाडेर विक्रम संम्वत् २०३० सालतिर पोखरामा बस्न थाल्नु भएको थियो । पोखराको बसोबास संगै अरुणले आफ्नै बाबुका कारणबाट संगीतकार नातीकाजी र शिवशंकरसंग भेट गर्नुभयो ।
गायक अरुण थापा मगरले २०३२ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि आश्विन गुरुङको रचना र ओम विक्रम बिष्टको संगीतमा कतै टाढा तिमीबाट पुगें भने सम्झेर नरुने ठूलो छ संसार बोलको गीत रेकर्ड गराउनु भएको थियो । उहाँको पहिलो गीतले खासै लोकप्रीयता पाउन सकेन । त्यसपछि २०३४ सालको अन्त्यतिर ऋतुहरुमा तिमी …. र २०३६ सालमा जति माया लाए पनि….. बोलको गीत गाएपछि उहाँको चर्चा देश विदेशमा सर्वत्र हुन थाल्यो । उहाँले गाएको ऋतुहरुमा तिमी ……बोलको गीत तत्कालिन समयमा बीबीसीले गरेको विश्व सर्वेक्षणमा विश्वका उत्कृष्ट दश गीतमध्ये सातौं स्थानमा पर्न सफल भएको थियो ।
पिएन क्याम्पस पोखरामा पढ्दै गर्दा थापाले मेरो जीवन कोरा कागज बोलको गीत गाएपछि पोखरा निवासी विमला पालिखेले प्रेम प्रस्ताव राख्नु भएको थियो । २०३४ सालको माघ महिनामा ओमविक्रम विष्ट लगायत केही साथीहरुको मात्र उपस्थीतिमा अरुणले भागेर काठमाण्डौंको गुह्येश्वरी मन्दिरमा विमलासंग विवाह गर्नुभयो । पारिवारिक सहमती बेगर विवाह गरेकाले उनीहरुलाई माईती पक्षले छुटाउने निकै प्रयास गरे । पारिवारीक दबाबबाट बच्न आफन्त कहाँ लुक्नेसम्म काम गरे अरुण र विमलाले ।
अरुण र बिमलाको प्रेम छुटाउने प्रयास असफल भएपछि माईती पक्षले सम्बन्ध स्वीकार गरेको नाटक रचे । माईतीसंगको सम्बन्ध सहज जस्तो देखिएपछि अरुणले पनि विमलालाई माईतीमा जान दिन थाले । केही समयपछि घर पर्कादिने भनेर विमलालाई माईती पक्षले पोखरा ल्यायो । अरुण संगीत साधनामै तल्लिन थिए । अरुण र विमलाको सम्बन्धलाई स्वीकार गरेको नाटक गरेको माईती पक्षले बिमलाको पोखरामै अर्कैै परपुरुषसंग विवाह गरिदियो ।
जूनी जूनीसंगै जिउने मर्ने बाचा कसम खाएकी जीवन संगिनीले अर्कैसंग लगनगाँठो कसेको खबर पाएपछि अरुण विक्षिप्त उहाँले विमलाको याद भुलाउने र आफुलाई सम्हाल्ने बहानामा नशालु पदार्थको सेवन गर्न थाल्नुभयो । बिमलासंग सयौं जूनी संगै जिउने भनि गरेको बाचा कसम तोडिएपछि अरुणले आफ्नो जीवनसंग मेल खाने खालका गितहरु गाउन थाल्नुभयोे । उहाँले गाएको चोट केहो व्याथा के हो म जस्तो घाईतेलाई सोध….. बोलको गित निकै चर्चित पनि भयो ।
प्रेम विवाह र बिछोडको अनुपम र दर्दनाक दुबै खाले पिडा सहन गरिसके पनि अरुणको सिंगो जिन्दगी बाँकी थियो । पुराना कुरालाई छोडेर नयाँ जिन्दगी अगाडी बढाउन ललितपुर निवासी मुना केसीसंग उहाँले परिवारको सहमति बिना नै दोस्रो बिहे गनुभयो । जसका कारण उहाँको परिवारको अन्तरकलह बढेर गयो र उहाँको परिवार नै छिन्न भिन्न हुने अवस्था आईपुग्यो । त्यतिबेला गित संगीत अहिले जस्तो आम्दानीको पेशा थिएन । अरुणले अरु कुनै पनि काम गर्नुभएन । आम्दानीको बाटो नभएपछि अरुणको परिवार आर्थिक रुपमा कमजोर हुँदै गयो । आर्थिक समस्याको दलदलमा फसेपछि २०४४ सालमा श्रीमतीको नाममा भएको जग्गा पनि अरुणले बेच्न पुग्नुभयो । आम्दानी कतैबाट छैन । भएको सम्पत्ती पनि बेचेर सकिएपछि अरुण र मुनाबीच पनि मनमुटाब बढ्यो । अन्ततः अरुण रु मुनाबीचको प्रेम पनि बिचैमा टुङ्गीयो । उहाँरुले सम्बन्ध विच्छेद गनुभयो । दोस्रो घरबार पनि असफल भएपछि अरुण फेरि लागुपदार्थको सेवन गर्न थाल्नुभयो ।
अवैध लागूऔषध प्रयोगको अभियोगमा २०४५ सालमा पक्राउ परेपछि करिब १५÷१६ महिना जेल जीवन समेत बिताउनुभयो । जेलबाट छुटेपछि उहाँ फेरि गायनमै तल्लिन हुनुभयो । तर लागूपदार्थको सेवन गर्न भने छाड्नुभएन । फलतः लागूपदार्थको सेवनले उहाँको कलेजोमा हेपाटाइटीस ‘बी’ को संक्रमण भयो । करिब ५÷६ महिनाको छट्पटाईपछि २०५६ साल साउन ५ गते बाघबजार स्थीत कान्तिपुर गेष्टहाउसमा उहाँको मृत्यु भयो । नेपाली गित संगीतको चर्चित कलाकारले गुमनाम जीवन परित्याग गर्नुभयो ।
