• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

भदौ पहिलो मंगलबार भैरवस्थानमा हरेलो मेला हुने

  • २०८३ श्रावण १५, शुक्रबार

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवस्थानमा मन्दिर परिसरमा हरेलो मेला लाग्ने भएको छ ।

भैरवस्थान गुठी व्यवस्थापन समितिको आयोजनामा बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि भदौको पहिलो मंगलबार ‘हरेलो मेला’को तयारी गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेलो पर्व मनाउने प्रचलन रहेको गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र प्रसाद ढकाले गर्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन रहेको तथ्य भेटिन्छ । पर्व जोगाइराख्न यसैका माध्यमबाट भैरवस्थानको प्रचार गर्न विगत केही वर्ष यता यहाँ हरेलो मेला गर्ने गरिएको गुठीले जानकारी दिएको छ ।

यो ऐतिहासिक मेला भएकाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने तथा यहाँको स्थानीय परम्परालाई संस्थागत गर्न महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष ढकालको भनाई छ ।

 

  • २०८३ श्रावण १५, शुक्रबार