• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

दुर्गम गाउँमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

बागलुङ । बागलुङको सबैभन्दा दुर्गम गाउँ सुकुर्दुङको सरस्वती माध्यमिक विद्यालयमा एकसाथ १२ कोठे सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यामिक विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको छ ।
रु. दुई करोड ६८ लाख लागतमा १२ कोठाको विद्यालय भवन तथा आठ वटा शौचालय निर्माण गरिएको सरस्वती माध्यामिक विद्यालयका प्रधानध्यापक थम प्रकाश जैसीले जानकारी दिनुभयो ।

लामो समयदेखि विद्यालय भवनको कक्षा कोठा अभावको समस्या झेल्दै आएको विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माणले सहज भएको छ ।
बालबिकासदेखि कक्षा दश सम्म ४३१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा कोठा अभावमा ६० जना विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराउनुपर्ने बाध्यताको भवन बनेसंगै अन्त्य भएको छ । विद्यालय भवन निर्माणपछि कक्षा पाँच, कक्षा सात र कक्षा आठमा विद्यार्थी धेरै भएर दुई समूहमा विभाजन गरे अध्यापन गराउन थालिएको जैसीले जानकारी दिनुभयो । “२०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीले छेउकै विद्यालय बगायो, चार कोठा बगेर गए भने अन्य संरचनामा समेत क्षति पु¥याएको थियो, त्यसयता विद्यालयमा कक्षा कोठाको सधै सास्ती भयो, नगरपालिका, प्रदेश सरकार र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत १२ कोठे पक्की भवन बनेको थियो तर विद्यार्थीलाई पढाउन नपुगेको अवस्था थियो, विद्यालयमा विद्यार्थी धेरै भएका कारण ट्रसको छाप्रो र पक्की भवनको भ¥याङमुनी पढाउन समेत बाध्य थियौ, कार्यालय, प्रयोगशाला, पुस्तकालय लगायतलाई कोठा नैथिएन” जैसीले भन्नुभयो “१२ नयाँ कक्षाकोठा थपिएपछि बल्ल बिद्यालयलाई पुगेको छ, विद्यालयमा विद्यार्थी धेरै भएका तीनवटा कक्षालाई समूहमा बाढेर दुई÷दुई वटा कक्षामा पढाउन शुरु गरिएको छ, बालबिकासदेखि प्रयोगशालालाई प्रयाप्त कोठा पाइएको छ, थपिएका १२ कक्षाकोठा सहित २४ कोठाले बल्ल बिद्यालयमा भनेजसरी शैक्षिक क्रियाकलाप गर्न पाइएको छ ।”

विद्यालय भवन निर्माणमा रु.दुई करोड ६८ लाखमध्ये १० प्रतिशत स्थानीय जनश्रमदान समेत रहेको छ । विद्यालयको भवन २०८२ कात्तिक २५ गते शुरु भएर २०८३ असारको १६ गते सम्पन्न भएको उहाँको भनाई छ । एउटै कक्षामा ६० जना विद्यार्थीलाई पढाउन शिक्षकले नसकेका कारण समस्या भएपनि नयाँ विद्यालय भवन बनेपछि दुई समूहमा ३०÷३० जनालाई पढाउन थालिएको छ । आठ वटा शौचालय समेत गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा बनेको छ । विद्यालयमा डेढ घण्टा हिडेर सोही वडाको रुद्रतालदेखि विद्यार्थी पढ्न आउने गरेका छन् । विद्यालयमा सुप्राङ, मसुरी, मम्ला, सानो कुगु, ठूलो कुगु सहित छिमेकी आठ नम्बर वडाका गाउँबाट समेत पढ्न आउने गरेका छन् । बसाइसराइँ नरहेको उक्त गाउँमा विद्यार्थी धेरै भएकाले भवन निर्माणले सहज भएको ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख शितलबाबु पाण्डेले जानकारी दिनुभयो ।

दुर्गम गाउँमा धेरै विद्यार्थी भएको र पुरानो भवन बाढीले बगाएकाले धेरै विद्यालयको अनुगमन पछि उक्त विद्यालय छनौटमा परेपछि भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर ट्रस्ट पोखराका प्रतिनिधि जीवन गुरुङले जानकारी दिनुभयो । उहाँले प्रत्यक वर्ष ठूला दुई वटा विद्यालय निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष बागलुङको ढोरपाटनको विद्यालय समेत छनौटमा परेर निर्माण गरिएको हो ।

विद्यालयमा पाँच कक्षा, सात र आठ कक्षा दुई÷दुई समूहको पढाई चलिरहेको छ भने विद्यालयमा विज्ञान प्रयागशाला, पुस्तकालय र कम्प्युटर प्रयोगशाला लगायतका शैक्षिक क्रियाकलाप भइरहेको छ ।