बागलुङ। लगातार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै म्याग्दी जिल्लाका दुई प्रमुख सडकखण्डमा आइतबार साँझदेखि दुई दिनसम्म सवारी साधन सञ्चालन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट प्राप्त मौसमसम्बन्धी सूचनाका आधारमा बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डमा साउन १७ गते साँझ ७ बजेदेखि साउन १९ गते बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय भएको जनाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै उक्त अवधिभर सवारी सञ्चालन नगर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य द्धारा जारी सूचना अनुसार प्रशासनले आवश्यक बाहेकको यात्रा नगर्न, उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्नसमेत आग्रह गरेको छ । साथै, मौसमको अवस्थाबारे सम्बन्धित निकायको सूचना नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।