बागलुङ । बागलुङको कृषि क्षेत्रलाई व्यवसायिक उत्पादन, प्रविधि, बजार तथा निजी लगानीसँग जोड्ने उद्देश्यले आइतबार बागलुङ नगरपालिकामा कृषि तथा प्राकृतिक रेशा क्षेत्रको विकास एवं लगानी प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुशील खड्काको सचिवालयको पहल तथा बागलुङ नगरपालिकाको व्यवस्थापनमा आयोजित कार्यक्रममा जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडका अध्यक्ष पवनकुमार गोल्यान,निर्देशक प्रेमबहादुर लामा, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, सीटीईभीटी गण्डकी प्रदेशका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, कृषक, उद्यमी, पत्रकार तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा बागलुङका विभिन्न स्थानीय तहमा रहेका कृषि उत्पादन, बाँझो जमिन, प्राकृतिक रेशा, बजार, प्रविधि, प्रशोधन तथा निजी लगानीका सम्भावनाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य खड्काले कृषिलाई उत्पादनमा मात्र सीमित नराखी लगानी, व्यवसाय र बजारसँग जोड्नुपर्नेमा जोड दिँदै बाँझो जमिनको उपयोग गरी प्रारम्भिक चरणमा करिब १० हजार रोपनी क्षेत्रफलमा व्यवसायिक कृषि विस्तार गर्न सकिने धारणा राख्नुभयो । उहाँले किसानलाई प्रविधि, बजार र निजी क्षेत्रसँग जोड्न स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्थानीय उत्पादनको पहिचान निर्माण गरी बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो भने सीटीईभीटी गण्डकी प्रदेशका निमित्त निर्देशक जीवन भण्डारीले कृषि प्राविधिक जनशक्ति विकास तथा अनुसन्धानमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उपप्रमुख राजु खड्काले कृषि क्षेत्रमा निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा जोड्ने यो महत्वपूर्ण सुरुआती प्रयास भएको बताउनुभयो । काठेखोला गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा (तिलक)ले स्थानीय उत्पादनको बजारीकरण तथा जंंगली जनावरको समस्या रहेको समेत बताउनु भयो । विशेषगरी गाउँगाउँमा बादर आतंकले किसान आजित बनेको कारण कृषि क्षेत्रमा लगानीको लागि समस्या रहेको समेत बताउनु भयो । यस्तै कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख कुमार पुनले बागलुङमा बाझो जमिन,बादर आतंक र बसाई सराईले कृषि क्षेत्र प्रभावित हुने गरेको बताउनु भयो ।
जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडका अध्यक्ष गोल्यानले उत्पादन, मूल्य र बजारलाई एकीकृत रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै प्राकृतिक रेशा तथा अन्य कृषि उत्पादनको बजार सुनिश्चित गर्न निजी क्षेत्र तयार रहेको बताउनुभयो । निर्देशक लामाले जैविक कृषि विस्तार, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारमा सहकार्य गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्यबाट कृषि उत्पादन, प्रशोधन र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
कार्यक्रमबाट प्राप्त सुझावका आधारमा कृषि तथा प्राकृतिक रेशा बालीको पहिचान, उत्पादन विस्तार, प्रविधि हस्तान्तरण, प्रशोधन, मूल्य अभिवृद्धि तथा निजी लगानीलाई अघि बढाउने विषयमा आगामी सहकार्य गर्ने सहमति भएको आयोजकले जनाएको छ ।