• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

डेढ महिनामा धौलागिरी अस्पतालमा २४२ जनामा डेङ्गु संक्रमण

“जेठमा जम्मा दुई जनामा संक्रमण पुष्टी भएको थियो, असारमा ८२ तर साउनको १८ गते सम्म मात्रै १६० जना बिरामीमा डेङ्गु संक्रमण पुष्टी भएको छ, यो तथ्याङ्क अस्पताल भित्र प्रयोगशालामा परिक्षणबाट निस्केको संख्या हो” पौडेलले भन्नुभयो “अहिले दैनिकजसो अस्पतालमा डेङ्गु परिक्षणका लागि आउने बिरामीको संख्या बढेको छ, डेङ्गु लक्षण देखिएका बिरामीको परिक्षण गरिरहेका छौं, सबैजना डेङ्गु संक्रमणबाट बच्न सचेत रहन आवश्यक छ ।”

बागलुङ बजार क्षेत्रमा पछिल्लो समय डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा डेङ्गु संक्रमण दर तिब्र रुपमा फैलिएको पाइएको धौलागिरि अस्पतालमा परिक्षणबाट पुष्टी भएको डेङ्गी संक्रमितको संख्याले जनाउछ । बागलुङको धौलागिरि अस्पताल बागलुङमा मात्रै पछिल्लो ४५ दिनमा २४२ जनामा डेङ्गु संक्रमण पुष्टी भएको पाइएको छ । पछिल्लो एक हप्तामा मात्रै धौलागिरि अस्पतालमा १२० जनामा संक्रमण पुष्टी भएको छ ।

अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलका अनुसार अस्पतालमा १२ जना डेङ्गु संक्रमितले उपचार गराइरहेका छन् भने अन्य विरामी उपचारपछि घर फर्केका र अन्य बिरामी संक्रमण भएपनि अस्पताल भर्ना गर्न नपरेको हो । असारमा मात्रै ८२ जनामा डेङ्गी पोजेटिभ देखिएको छ । असार यता ९०५ जना डेङ्गुका संकास्पद विरामीको परिक्षण गर्दा २४२ जनामा डेङ्गी पुष्टी भएको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले बिरामीको चाप बढेको बताउदै पौडेलले डेङ्गुका संकास्पद बिरामीलाई प्राथमिकताका साथ सेवा दिइरहेको बताउनुभयो ।

“जेठमा जम्मा दुई जनामा संक्रमण पुष्टी भएको थियो, असारमा ८२ तर साउनको १८ गते सम्म मात्रै १६० जना बिरामीमा डेङ्गु संक्रमण पुष्टी भएको छ, यो तथ्याङ्क अस्पताल भित्र प्रयोगशालामा परिक्षणबाट निस्केको संख्या हो” पौडेलले भन्नुभयो “अहिले दैनिकजसो अस्पतालमा डेङ्गु परिक्षणका लागि आउने बिरामीको संख्या बढेको छ, डेङ्गु लक्षण देखिएका बिरामीको परिक्षण गरिरहेका छौं, सबैजना डेङ्गु संक्रमणबाट बच्न सचेत रहन आवश्यक छ ।”

डेङ्गुको किट सरकारले नपठाउदा डेङ्गु परिक्षणका लागि भने शुल्क लाग्ने गरेको अस्पतालले जानाएको छ । स्वास्थ्य बीमा नपर्ने परिक्षण अस्पतालले निःशुल्क गर्ने भएपनि किट सरकारले नपठाउदा अस्पतालले आफै खरिद गरेर ल्याउदा शुल्क लिन थालिएको अस्पतालको भनाई छ । पछिल्ला दिनमा डेङ्गुको लक्षण देखिने झण्डै २० प्रतिशत रहेको र अन्य ८० प्रतिशतमा डेङ्गु संक्रमण भएता पनि लक्षण नदेखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

अहिले अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने, वाकवाकी लाग्ने, वान्ता आउने गरेको पाइएको छ । अस्पतालमा प्रत्येक सोमबार ४०० देखि ५०० बढी बिरामीको संख्या ओपिडीमा आउने गरेको पाइएको छ भने आकश्मिक कक्षमा समेत विरामीको संख्या दोब्बरले बढेको पाइएको छ ।
डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

विशेषगरी आफ्नो घर आगन सफा गरेर लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्न सक्छन् । सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।