टोकियो । सन् २०२४ मा जापानको इशिकावा प्रिफेक्चरमा आएको विनाशकारी भूकम्पपछि प्रभावित नागरिकको राहत तथा मानवीय सेवामा पु¥याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप नानाओ नगरले NRNA जापान तथा जापानस्थित नेपाली समुदायप्रति औपचारिक कृतज्ञता व्यक्त गरेको छ।

बुधबार, अगस्ट ५ मा आयोजित कार्यक्रममा नानाओ नगरले 感謝状 (कृतज्ञता पत्र) प्रदान गर्दै विपत्तिको कठिन घडीमा नेपाली समुदायले देखाएको सेवाभाव, ऐक्यबद्धता र निःस्वार्थ सहयोगको उच्च प्रशंसा गरेको हो। उक्त सम्मानपत्र NRNA जापानका अध्यक्ष सुवास लामिछाने र निवर्तमान अध्यक्ष नविन निउरेले ग्रहण गर्नुभएको थियो ।

नगरले जारी गरेको कृतज्ञता पत्रमा प्रभावित क्षेत्रमा पुगेर सामूहिक भोजन वितरण, राहत सामग्री उपलब्ध गराउने तथा पीडितहरूलाई आत्मीय साथ र हौसला प्रदान गर्ने नेपाली समुदायको योगदानलाई अविस्मरणीय भन्दै प्रशंसा गरिएको छ। साथै, यस्तो सहयोगले राहत कार्यलाई मात्र नभई नेपाल–जापानबीचको मित्रता, सद्भाव र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाएको उल्लेख गरिएको छ।
यो सम्मान NRNA जापानको मात्र नभई विपद्को घडीमा एकजुट भएर मानवीय सेवामा समर्पित सम्पूर्ण जापानस्थित नेपाली समुदायप्रतिको सम्मान र कदरका रूपमा समेत हेरिएको छ।