• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

तेल भिसा

एकछिन सोचे , मानिसहरु किन यस्ता कुरा गर्छन ? छोरा बुहारी मेरा , जानुपर्ने मैले ।अनि यिनिहरुलाइ के को दुख भएको होला ? मेरो बुहारी मेरो घरको लक्ष्मी हुन।हाम्रो परीवारको सान , गौरव र बुढेसकालको सहारा हुन।हाम्रो छोराको खुशी हुन।छोराको जिवनसाथी हुन।छोरासंग उनी छन र त म आमाको मन ढुक्क छ।छोराछोरीलाई सधैं आफुसङै आफ्नै नजरमा राख्न खोजेर पनि त भएन। मेरो मुटुको टुक्रा , मलाई पहिलो पटक आमा बन्ने सौभाग्य दिने मेरो खुशी , मेरो धड्कन , मेरो शक्ति , मेरो छोरालाई मैले जत्तिकै माया र ख्याल गर्ने ब्यक्ति पनि बुहारी नै हुन।म पछि यो घर सम्हाल्ने पहिलो ब्यक्ति पनि उनै हुन। हाम्रो परीवारको वंश निरन्तरताको प्रमुख पात्र पनि उनै हुन। अहिले उनको पेटमा मायाको चिनो यो घरको उत्तराधिकारी हुर्किरहेछ ।

आजभोलि सविता झन् फुर्तिली देखिन्छिन । छरछिमेकी र साथिभाइको विचमा आफ्नो नातिनिको बयान गरेर थाक्दिनन । उनलाई हरेक दिन बिहान बेलुका भिडियो कल गरेर नातिनिलाइ हेर्नैपर्छ । उता अष्ट्रेलियामा छोराबुहारी ब्यस्त हुदा पनि दिनको दुइपटक त नातिनिलाइ नदेखी मान्दिनन । उनको जिद्दीको अगाडि छोरा बुहारीको पनि केही लाग्दैन र समय मिलाएर बच्चालाई काखमा राखी आमालाई भिडियो कल गछ्र्न नै ।

सविता मेरो मिल्ने साथी पनि हुन । एकदिनको भेटघाटमा उनले आफू अष्ट्रेलिया जानुभन्दा अगाडि छिमेकीहरुले खिस्सी ट्युरी गरेका कुराहरु मन छुनेगरी सुनाइन् । उनी भन्छिन – एकदिन पसलमा सामान हेर्दै थिए । ग्राहक मध्येकी एउटी महिलाले प्वाक्क बोलिन , दिदी तपाई त तेल भिसामा अष्ट्रेलिया जादैहुनुहुन्छ रे नि ? अरु २÷३ जना गलल्ल हासेँ । ए तेल भिसा है । पसलेपनि हास्यो र भन्यो – “यो तेल भिसाले पनि बुढाबुढीलाई दुख दिएकोछ । “

एकछिन सोचे , मानिसहरु किन यस्ता कुरा गर्छन ? छोरा बुहारी मेरा , जानुपर्ने मैले ।अनि यिनिहरुलाइ के को दुख भएको होला ? मेरो बुहारी मेरो घरको लक्ष्मी हुन।हाम्रो परीवारको सान , गौरव र बुढेसकालको सहारा हुन।हाम्रो छोराको खुशी हुन।छोराको जिवनसाथी हुन।छोरासंग उनी छन र त म आमाको मन ढुक्क छ।छोराछोरीलाई सधैं आफुसङै आफ्नै नजरमा राख्न खोजेर पनि त भएन। मेरो मुटुको टुक्रा , मलाई पहिलो पटक आमा बन्ने सौभाग्य दिने मेरो खुशी , मेरो धड्कन , मेरो शक्ति , मेरो छोरालाई मैले जत्तिकै माया र ख्याल गर्ने ब्यक्ति पनि बुहारी नै हुन।म पछि यो घर सम्हाल्ने पहिलो ब्यक्ति पनि उनै हुन। हाम्रो परीवारको वंश निरन्तरताको प्रमुख पात्र पनि उनै हुन। अहिले उनको पेटमा मायाको चिनो यो घरको उत्तराधिकारी हुर्किरहेछ ।

बुहारी दुई जिउकी छन रे भन्ने खबर सुन्नेबित्तिकै हामी बुढाबुढी यती खुशी भयौ कि बयान गरि साध्य छैन । त्यो शुभ समाचार सुनेपछि गाउघर पनि उज्यालो लाग्न थाल्यो । चराचुरुङ्गीको आवाज पनि झनै मिठो लाग्न थाल्यो । आगनभरी ढकमक्क फुल फुलेका थिए । गैरीखेतमा धानका बाला झुलिरहेका थिए । मन्दिर जादा भगवानले पनि मुसुक्क हासेर तथास्तु भनेको आभास भैरहेको थियो । आफ्नो बच्चालाई बोकेर बादर वल्लो रुख पल्लो रुखका हागाहरुमा खेलिरहेको दृश्य निकै हेरिरहन मन लाग्ने खालको थियो।गोठमा बाधिरहेको माली गाइले आफ्नो बाच्छोलाइ चाटी चाटी थुन चुसाइरहेको थियो। यी सबै दृश्यहरुले मभित्रको ममता उर्लिरहेको थियो।गर्भवती बुहारीलाई कति बेला भेटौ र उनको कपाल सुमसुम्याउ जस्तो भैरहेको थियो।उनलाई यस्तो बेलामा के खान मन लागेकोछ सोधी सोधी उनको चाहना अनुसारको परीकार बनाएर खुवाउने रहर जागेको छ । मेरी बुहारी आमा बन्दैछिन। म पनि त आमा हु।छोराछोरीलाई थुप्रै बर्ष अगाडि खन्याएको त्यो वात्सल्य , त्यो ममता आज फेरि ताजा बनेको छ।बुहारी र उनको पेटमा हुर्किदै गरेको मेरो सानो चुलबुलेलाइ भेट्न र ममता बर्साउन म आतुर थिए ।नाति वा नातिनी जे भएपनी आमा र बच्चा दुबै ठिकठाक रहुन , भगवानसग मेरो प्रार्थना यहि थियो ।

क्यालेन्डर हेर्दै अष्ट्रेलिया जाने दिन गन्दै थियौं।छिमेकी ÷ आफन्त र वरपरका मान्छेहरुले बेला बेलामा भन्ने गर्थे “ ए तेल भिसामा पो जादैहुनुहुन्छ ।“यो वाक्य मलाई त्यति मीठो लाग्दैनथ्यो।पढाइ र रोजगारीको सिलसिलामा हाम्रो देशका थुप्रै युवाहरु बिदेशिनु परेको छ । यो तितो यथार्थ हो। युवा बिदेशिनबाट रोक्ने , पढेलेखेका युवाहरुले पनिआफ्नै देशमा सीप , क्षमता र दक्षता प्रदर्शन गर्न पाउने वातावरण सिर्जना गर्ने काम त राज्यको हो।निति निर्माण गर्ने काम राजनैतिक दलहरुको हो।अन्तर्राष्ट्रिय विमानस्थलमा गएर गहभरी आशु लिएर आफ्ना छोराछोरीलाई हात हल्लाउँदै बिदेशी भुमिमा पठाउन त कुन आमा बाउलाइ रहर छ होला र ?तर म जस्ता हजारौं लाखौं आमाहरु बिबस र बाध्य छन।आफ्नो मुटुको टुक्रालाई बिदाइ गर्दा वाक्य नछुटेपछी मुखले वाइ भन्न नसकेर भक्कानिदै हात हल्लाएर एयरपोर्टबाट फर्किन्छन आमाहरु।तिनै सन्तानले पठाएको रेमिट्यान्समा आफ्नो जीवन धकेलेका म जस्ता आमाहरुलाइ यो समाजले भन्ने गर्छ “ ए तेल भिसामा पो जादैहुनुहुन्छ है “ ।

दिन महिना बित्दै गए।छोरा बुहारीले उतैबाट टिकट सिकट सबै मिलाए।अरुहरुको कुराको रत्तिभर फिक्कर थिएन हामिलाइ।छोरा बुहारीलाई भेट्ने र हाम्रो आगन उज्यालो पार्दै छिट्टै आउनेवाला छुनुमुनुलाई स्वागत गर्न हामी लालायित थियौं ।आतुर थियौं ।केहि दिन वा केहि हप्ता आमा बन्न लागेकी प्यारी बुहारीलाई आफ्नो काखमा राखेर ममता बर्षाउने मेरो रहरलाई छोराले पूरा गरिदिएको थियो ।उनलाइ हस्पिटल लैजानु भन्दा तीन हप्ता अगाडि हाम्रो टिकटको चाजोपाजो मिलाएर मेरो मनोभावना बुझेकोमा छोराप्रति पुन गर्व महसुस भयो। बच्चा देखी नै सबै कुरा मिलाउनमा माहिर छ हाम्रो छोरा ।सबै कुरा ठिक ठिक समयमा ठिक ठिक निर्णय लिन्छ उसले ।जुन सबै कुरा उसको डिजाइन अनुसार चलेको पनि छ।यसका लागि भगवानलाई लाख लाख नमन ।

हामी एयरपोर्ट पुग्यौं ।छोरा लिन आइपुगेको थियो ।उसले चलाएको गाडिमा बसेर घरतिर हुइकिदा निकै सुखद क्षणको महसुस भयो।घरमा पुगि बुहारीलाई भेट्दा अर्को सुखानुभुती प्राप्त गर्यौ।उनको पेटलाइ सुमसुम्याए ।बच्चा चलेको सहजै थाहा भयो।हाम्रो घरको उत्तराधिकारी पेट भित्रैबाट हामिलाइ स्वागत गरीरहेको थियो।अठार बीस दिन जति पेटभित्रको सानो सन्सारलाइ जिस्क्याउने , मुसार्ने , सुमसुम्याउने गर्दै लुकामारी खेलेर थप आनन्द बटुले।बुहारीलाई उनको इच्छा अनुसारको परीकार बनाएर खुवाउदा , उनको समिपमा रहेर उनलाइ नियाल्दा अर्कै खालको सुखानुभुती प्राप्त हुन्थ्यो ।दिन बित्दै गए बुहारीलाई लिएर हस्पिटल गयौं ।कुल देवता , पितृ देवता , सबै देवदेबिहरुलाइ स्मरण गरे।आमा र बच्चा दुबै सकुशल भएर बाहिर आउन भनी प्रार्थना गरे।भगवानलाई कोटि कोटि प्रणाम र डाक्टर सहितको टिमलाइ धन्यवाद दिदै कृतज्ञ रहदै प्यारी नातिनी सहित घरमा फक्र्यौ।घर झलमल्ल उज्यालो भयो। उसको बाल चिच्याहटले घरका कोठा , भान्सा , बैठक सबै एकैसाथ बिउझिए झै लाग्यो ।

हामी कहाँ यो काम महिलाले र त्यो काम पुरुषले भन्ने त्यति सारो बिभाजन छैन।जसले जे पर्छ गरीहाल्ने चलन पहिल्यै देखि थियो। श्रीमान जिले पनि घरभित्रका प्रायजसो काममा सघाउनु हुन्थ्यो ।छोराले पनि आफ्नो अफिसको कामलाइ ब्यबस्थापन गर्दै सुत्केरी बुहारी , सानो बच्चा , बाहिरको किनमेल भ्याएसम्म भान्सातिर पनि ध्यान पुर्याउथ्यो।नातिनिलाइ नुहाउने , तेल लगाउने , आमाको दुध खुवाउनमा मद्दत गर्ने लगायतका कामहरु मैले नै गर्थे ।त्यो मेरो कर्तव्य , जिम्मेवारी र मेरो खुशी थियो ।अनि मेरो सासुआमाबाट पाएको प्रेरणा पनि थियो।म सुत्केरी हुदा पनि उहाले धेरै स्याहार सुसार गर्नुभएको थियो।धेरै माया गर्नुहुन्थ्यो ।सुत्केरीले राम्रोसँग खाना खाएमा दुध राम्रो आउँछ र बच्चा राम्रो हुन्छ ।सुत्केरी पनि छिटो दर्हो भएर उठ्न सकिन्छ भनेर खाना खुवाउने कुरामा उचित ख्याल गर्नुहुन्थ्यो । मैले मेरो आमा र सासुआमाबाट सिकेको कुरा, उहाहरुबाट पाएको सस्कार आफ्नो बुहारी र नातिनिप्रती लागू गर्न पाउँदा म आफैमा हर्षविभोर थिए ।
दिन बित्दै गए।नातिनी हास्न शुरु गरिन। ।बुहारी पनि तन्दुरुस्त हुँदै गइन।“जहाँ राम त्यही अयोध्या “भने जस्तै आफ्ना सन्तान भएको ठाउँ भएर होला बिदेशी भुमि पनि प्यारो लाग्न थाल्यो । छोरा , बुहारी र नातिनी भएको त्यो घर , कोठाचोटा , त्यो आगन , वरपरका ती रुख बिरुवा , त्यो माटो , त्यो बाटो सबैमा आफ्नोपन देखिन्थ्यो ।मुटुका टुक्रा मायालुहरुसङ बिताएका सुखद क्षणहरुलाइ स्मरण गर्दै नेपाल फर्किने दिन नजिकिदै थियो।तर मन मानिरहेको थिएन ।त्यो नातिनिलाइ छातिमा टासिरहने तिर्खा अझै मेटिएको थिएन ।मभित्रको बात्सल्य र ममता तृप्त भैसकेको थिएन ।तर सान्सारिक गति , जिवनको चक्र , भिसा प्रक्रिया , नेपाल तिरका आफ्ना अन्य जिम्मेवारी यी सबै कुराहरु पनि त सत्य नै थिए ।

छोरा बुहारी भन्दै थिए , “ हामिहरुको पिर गनुपर्दैन। बैनिको पनि केही चिन्ता नगर्नु ।उनी पनि आत्मनिर्भर र सक्षम छन ।खुशी छन। ज्वाइ साव असल हुनुहुन्छ । परीवारको माया पाइरहेकी छन।हजुरहरुले आफ्नो ख्याल गर्ने। उमेर अनुसार ब्लड प्रेसर , सुगर , हड्डी खिइने, घुडा दुख्ने लगायतका समस्याले दुख दिन सक्छ ।त्यसैले नियमित ब्यायाम गर्ने, हल्का वाकिङ गर्ने, पोषिलो खानेकुरा समय समयमा मिलाएर खाने।केही कुराको कन्जुस्याइँ पनि नगर्ने।मानवीय सेवाको कार्यमा आफुलाइ मन लागेको ठाउमा आफ्नो क्षमता हेरीकन थोरै धेरै दानदक्षिणा गरेर आत्मसन्तुष्टि लिन पनि नभुल्नु।खुशी भएर बस्नु र केही परेमा हामिलाइ भन्नू ।अब जे पर्छ हामी गर्छौ ।“ उनिहरुका कुरा सुन्दा अर्को आनन्द आयो। उनिहरुले किनिदिएका नानाचाचा बोकेर मुटुभरी माया लिएर हामी नेपाल आयौं साथी।

सविताका कुरा अझै सुनिरहन मन थियो । तर झमक्क साझ परीसकेकोले अर्को दिन फेरि भेट्ने बाचा सहित हामी छुट्टियौ। मेरो मन गरुङ्गो भैरहेको थियो । तेल भिसा र त्यसप्रति मानिसहरुले बनाएको दृष्टिकोण अनि सविताको जागृत मातृत्वले मेरो मुटुमा स्पर्श गरिरह्यो।मानिसहरूले हल्का ढंगले तेल भिसा भनिरहदा पनि त्यसभित्रको ममता अनमोल छ !
लेखक शकुन्तला शर्मा नारी साहित्य समाज बागलुङकी अध्यक्ष समेत हुन् ।