• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

नदीजन्य विपद् न्यूनिकरण सामाग्री सहयोग

बागलुङ । बागलुङ जिल्लामा नदीजन्य विपद्का घटना न्यूनिकरण गर्नका लागि गैर सरकारी संस्था बागलुङको पहलमा विपद् न्यूनिकरण सामाग्री सहयोग गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बागलुङका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई नदीजन्य विपद् न्यूनिकरणको अत्यावश्यक आधुनिक डुङ्गा, लाइफ ज्याकेट, हेलमेट, उद्दार डोरी लगायत सात लाख ३१ हजार बराबरको सामाग्री प्रदान गरिएको थियो ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र गैर सरकारी संस्था बागलुङको पहलमा आइएनएफ नेपाल, सिवासी युवा क्लब, एनजिडिएफ नेपाल तथा बागलुङ उद्योग वाणिज्यसंघ लगायत अन्य स्थानीय तह र र संघ संस्थाको आर्थिक सहयोगमा जलप्रकोप उद्दार तथा न्यूनिकरणका लागि आवश्यक विपद् व्यवस्थापन सामाग्री सहयोग गरिएको हो ।

बागलुङ जिल्लामा कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, तमानखोला, काठेखोला र ठेउलेखोला जस्ता ठूला खोलामा हुन सक्ने विपद्का घटना र धनजनको क्षतिक न्यूनिकरणका लागि जिल्लामा पहिलोपटक डुङ्गा सहित आवश्यक समाग्री खरिद गरिएको हो । बाढी, पहिरोलगायत विपद्का घटनामा उद्धार तथा खोजी कार्यका लागि आवश्यक सामग्री खरिद गर्न करिब सात लाख ३१ हजार खर्च गरिुएको छ । १६ फिट लामो हेभी ड्युटी पीभीसी ¥याफ्ट, आउटफिटर प्याडल, गाइड प्याडल, थ्रो ब्याग, सेफ्टी हेल्मेट, लाइफ ज्याकेट, बोट कभर र ह्यान्ड पम्पलगायत नदीजन्य उद्दार सामग्री प्रदान गरिएको गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले जानकारी दिनुभयो । “जिल्लामा नदीजन्य विपद्का घटनामा राम्रो डुङ्गा समेत रहेनछ, जिल्लामा अतिआवश्यकको रुपमा रहेका सामाग्री विभिन्न संघ संस्थाको सहयोगमा खरिद गरेर जिल्ला विपद् व्यवस्थापन समितिलाई प्रदान गरिएको छ” सापकोटाले भन्नुभयो “नदीमा बगेका तथा डुबेका मानिसको उद्दारमा सामाग्री निकै सहयोगी हुनेछ ।”

आठ थान आउटफिटर प्याडल, एक थान गाइड प्याडल, एक थान थ्रो ब्याग, आठ थान सेफ्टी हेल्मेट, आठ थान लाइफ ज्याकेट, एक थान बोट कभर र एक थान ह्यान्ड पम्प सहयोग गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख कृष्ण प्रसाद आचार्यलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
उक्त सामाग्रीको रेखदेख तथा तयारी अवस्थामा राख्नुपर्नेमा थापाको जोड थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले शसस्त्र प्रहरी गुल्म बागलुङमा उक्त नदीजन्य विपद् उद्दार सामाग्री राखिने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल तथा आइएनएफ नेपालका कृष्ण अधिकारी तथा बागलुङ उदोग वाणिज्यसंघका अध्यक्ष राजन कुमार शाक्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ उद्योग वाणिज्यसंघका महासचिव इन्द्रमणी पौडेलको सञ्चालन तथा गैर सरकारी संस्था बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।