बागलुङ । जिल्लाको निसीखोलामा अविरल वर्षासँगै घरमाथिबाट पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ भने थप ४० घर जोखिममा परेका छन् ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण निसीखोला गाउँपालिका–२ धाराटोलमा शुक्रबार बिहान करिब ४ बजेको समयमा पहिरोसहित ठूला ढुंगा खसेका हुन् । पहिरोले स्थानीयका घर, गोठ तथा शौचालयमा क्षति पु¥याएको निसीखोला गाउँपालिका–२ का वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो ।

पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो । “पहिरो खस्दा केही घरमा प्रत्यक्ष क्षति पुगेको तथा घर आसपासका गोठ र शौचालयसमेत प्रभावित भएका छन् केही घर चर्किएको छ ” वडा अध्यक्ष विश्कर्माले भन्नुभयो ।
वडा अध्यक्ष विश्वकर्माका अनुसार पहिरोका कारण बस्तीमा थप जोखिम बढेको छ । हाल करिब ४० घर पहिरोको उच्च जोखिममा रहेका छन् । लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको र जोखिममा रहेका घरपरिवारलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो । काल्नेचौर, उपल्लाबेग्री, हाडीचार र बासखोला सडक खण्डबाट पहिरो झरेको जनाइएको छ । सडक क्षेत्रबाट पहिरो झरेर बस्ती आसपाससम्म पुगेकाले थप वर्षा भएमा पहिरो फैलिन सक्ने जोखिम रहेको वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
घटना भएपछि वडा अध्यक्ष विश्वकर्माको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा पहिरोबाट भएको क्षति तथा जोखिममा रहेका घरपरिवारको अवस्थाबारे जानकारी लिइएको छ ।
वर्षा निरन्तर भइरहेकाले जोखिममा रहेका बस्तीमा थप क्षति हुन नदिन स्थानीय तह तथा सुरक्षा निकायले आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ । स्थानीयवासीलाई समेत पहिरोको जोखिम रहेका क्षेत्रमा सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
