• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बुर्तिबाङ बजार व्यवस्थापनमा निजी क्षेत्रको चासो

बागलुङ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको बुर्तिबाङ बजार पछिल्लो समय वढ्दो सहरिकरणले अस्तव्यस्त जस्तै बनेको छ ।

साघुरो सडक,अव्यविस्थत पार्किङ, तथा सवारी साधनको बढ्दोक्रमले बजारलाई थप अस्त व्यस्त बनाउने गरेको छ । यसै सन्दर्भलाई लिएर बजारलाई व्यवस्थित बनाउनेमा निजी क्षेत्रले चासो देखाएको छ ।

यसै सन्दर्भमा शनिबार बुर्तिबाङमा होटल सञ्चालक, ग्रिल तथा फर्निचर व्यवसायी तथा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया भएको छ । बुर्तिबाङको बढ्दो जथाभावि पार्किङ, बजार व्यवस्थापन तथा होटल–रेस्टुरेन्टमा खाजा–खानाको दररेट लगायतका विषयमा छलफल गरिएको थियो । ठूला सवारीसाधनले जथाभावी सामान लोड–अनलोड गर्ने तथा सडक क्षेत्रमा पार्किङ गर्ने गर्दा बजारमा आवतजावतमा समस्या हुने गरेको सहभागीहरूले बताएका थिए । पार्किङ अभावका कारण विद्यालय जाने विद्यार्थीलाई समेत सडक पार गर्न कठिनाइ हुने गरेको उनीहरूको भनाइ थियो ।

ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार अदैले देवचोकदेखि लक्ष्मीकुण्ड पुलसम्म सडक क्षेत्रमा ग्रिल तथा फर्निचरका सामग्री राखेर व्यवसाय सञ्चालन गर्दा आवतजावतमा समस्या भएको भन्दै व्यवसायीलाई उपयुक्त स्थानको प्रयोग गर्न आग्रह गर्नुभयो । यसको उचित व्यवस्थापनका लागि उहाँले स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य गोपाल महतले पछिल्लो समय बसाइँसराइ बढेसँगै बुर्तिबाङमा जनचाप बढेकाले पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभयो । विगतमा घर निर्माण गर्दा भविष्यको सडक व्यवस्थापनलाई ध्यान नदिइएकाले अहिले सडक साँघुरो भएको तथा खोलाका कारणसमेत समस्या रहेको उहाँको भनाइ थियो । ट्राफिक प्रहरी सहायक निरीक्षक दिवाकर ओलीले बजार क्षेत्रमा जथाभावी पार्किङ, ठूला सवारीसाधनबाट हुने लोड–अनलोड तथा सडक अवरोधका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । प्रहरी नायब उपरीक्षक सुदिप भट्टराईले किराना पसल तथा होटल व्यवसायीलाई सडक आवागमनमा असर नपर्ने गरी व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा होटल सञ्चालकहरूले अनिवार्य रूपमा मेनु राख्नुपर्ने, नयाँ व्यवसाय दर्ताका लागि उद्योग वाणिज्य संघबाट सिफारिस लिनुपर्ने तथा होटल तथा रेस्टुरेन्ट राति १० बजेपछि अनिवार्य रूपमा बन्द गर्नुपर्ने विषयमा निष्कर्ष निकालिएको छ ।

त्यस्तै, सडक तथा बजार क्षेत्रमा समस्या सिर्जना गरिरहेका ग्रिल व्यवसायलाई व्यवस्थित गर्दै उपयुक्त स्थानमा स्थानान्तरण गर्ने तथा फर्निचर व्यवसायीले समेत व्यवसाय सञ्चालनका लागि उपयुक्त स्थान खोज्नुपर्ने विषयमा सहभागीहरूबीच सहमति भएको जनाइएको छ ।