• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

विद्यार्थीको मनोविज्ञान बुझ्ने कि केवल परिणाम मूल्याङ्कन गर्ने ?

सिकाइका लागि क्याम्पस, अभिभावक र स्वयं विद्यार्थीहरु त्रिपक्षीय मेहनतले मात्र राम्रो नतिजा निकाल्न सकिन्छ। अत्यधिक प्रतिस्पर्धात्मक शैक्षिक वातावरण विद्यार्थीको मानसिक अवस्था कमजोर हुनुको प्रमुख गम्भीर विषय हो। विद्यार्थीले अरूभन्दा बढी अंक ल्याउनैपर्छ, उत्कृष्ट नै हुनुपर्छ भन्ने निरन्तर दबाबले उसको सिकाइ प्रतिको रुचिलाई नै कमजोर बनाउन सक्छ। त्यसैले अंकलाई मात्र सफलताको मापदण्ड बनाउनुको सट्टा विद्यार्थीले के सिकिरहेको छ, कुन विषयमा रुचि राख्छ, उसको क्षमता र सिर्जनशीलता के हो भन्ने कुरालाई पनि समान महत्व दिनुपर्ने आवश्यकता देखियो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत धवलागिरी बहुमुखी क्याम्पसमा, क्याम्पस स्थापना दिवसको दिनमा “अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस“ विषयको अन्तक्रिया कार्यक्रम आयोजना भएको थियो।

यस कार्यक्रममा प्रध्यापक, कर्मचारी, क्याम्पस प्रशासन, अभिभावक, पत्रकार तथा विद्यार्थी प्रतिनिधिहरूको सहभागितामा थियो। कार्यक्रम विद्यार्थीको शैक्षिक प्रगति, व्यवहार र समग्र क्याम्पसको अवस्थाबारे अभिभावक तथा क्याम्पसबीच संवाद गर्ने उद्देश्यले आयोजना गरिएको भए पनि छलफल क्रमशः अहिलेका विद्यार्थीमा देखिँदै गएको मनोवैज्ञानिक तथा सामाजिक समस्यातर्फ केन्द्रित भयो ।

छलफलको मुख्य प्रश्नः– विद्यार्थीलाई केवल उसको अंक, व्यवहार वा बाहिरी प्रस्तुतिका आधारमा मूल्याङ्कन गर्ने कि उसको मनोवैज्ञानिक अवस्था बुझ्ने ?
आजकलका विद्यार्थीहरु बाहिरी रुपमा जति सहज देखिन्छन त्यति मनोवैज्ञानिक रुपमा कमजोर हुन सक्छन् । युवा– विद्यार्थीहरुमा चरम निरासाले घेरिरहेको छ । कम्युनिकेसन ग्यापका कारण एन्जाइटी , फ्रस्टेसन तथा डिप्रेसनको सिकार भएको हुनसक्छ । विद्यार्थी घरमा कस्तो वातावरणमा हुर्किरहेको छ? ऊ परिवारसँग खुलेर कुरा गर्छ कि गर्दैन? एक्लिएको, सामाजिक रूपमा अलग भएको वा अत्यधिक दबाबमा रहेको त छैन ? उसको व्यवहारमा अचानक परिवर्तन आएको छ कि छैन? यी कुराहरू सबैभन्दा नजिकबाट अभिभावकले बुझ्न पर्ने विषय हुन्। त्यसैले अभिभावकको भूमिका केवल पढाइ र परीक्षाको परिणाम सोध्नेमा सीमित हुनु हुँदैन; आफ्नो सन्तानको मनस्थिति बुझ्ने र उसलाई सुन्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ । त्यसैगरी, विद्यार्थी क्याम्पस प्रवेश गर्दा उसको मनोवैज्ञानिक अवस्था कस्तो छ भन्ने विषयमा पनि संवेदनशील हुनुपर्ने देखियो। विद्यार्थीको कुनै व्यवहार असामान्य देखिँदैमा तत्काल ‘अनुशासनहीन’, ‘लापरवाह’ वा ‘कमजोर’ भनेर निष्कर्ष निकाल्नुको सट्टा त्यस व्यवहार पछाडिको कारण बुझ्ने प्रयास गर्नुपर्ने कुरा छलफलको महत्वपूर्ण निष्कर्ष बन्यो ।
सिकाइका लागि क्याम्पस, अभिभावक र स्वयं विद्यार्थीहरु त्रिपक्षीय मेहनतले मात्र राम्रो नतिजा निकाल्न सकिन्छ। अत्यधिक प्रतिस्पर्धात्मक शैक्षिक वातावरण विद्यार्थीको मानसिक अवस्था कमजोर हुनुको प्रमुख गम्भीर विषय हो। विद्यार्थीले अरूभन्दा बढी अंक ल्याउनैपर्छ, उत्कृष्ट नै हुनुपर्छ भन्ने निरन्तर दबाबले उसको सिकाइ प्रतिको रुचिलाई नै कमजोर बनाउन सक्छ। त्यसैले अंकलाई मात्र सफलताको मापदण्ड बनाउनुको सट्टा विद्यार्थीले के सिकिरहेको छ, कुन विषयमा रुचि राख्छ, उसको क्षमता र सिर्जनशीलता के हो भन्ने कुरालाई पनि समान महत्व दिनुपर्ने आवश्यकता देखियो। विद्यार्थीलाई सुधार्नु अघि बुझ्नुपर्छ, मूल्याङ्कन गर्नुअघि सुन्नुपर्छ र अपेक्षा राख्नुअघि उसको मनोअवस्था बुझ्नुपर्छ।अभिभावकले घरमा संवादको वातावरण बनाउने, शिक्षकले कक्षामा संवेदनशील व्यवहार गर्ने, क्याम्पस प्रशासनले विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने र विद्यार्थी स्वयंले पनि आफ्ना समस्या व्यक्त गर्न सक्ने वातावरण बनाउन सके मात्र यो चुनौतीलाई सम्बोधन गर्न सकिन्छ ।

समाज र परिवारमा रहेको जज्मेन्टल दृष्टिकोण पनि विद्यार्थीको मनोविज्ञानमा प्रभाव पार्ने अर्को महत्वपूर्ण पक्षका रूपमा उठेको छ। एउटै व्यवहार छोरा वा छोरीले गर्दा फरक ढंगले व्याख्या गर्ने, सामान्य गल्तीलाई पनि संस्कार, चरित्र वा पारिवारिक प्रतिष्ठासँग जोड्ने प्रवृत्तिले विद्यार्थीलाई आफ्ना कुरा व्यक्त गर्न असहज बनाउन सक्छ। कक्षाकोठामा पनि कुनै विद्यार्थीको अंक घट्दा वा प्रदर्शन कमजोर हुँदा तुरुन्तै उसको भविष्य बारे निर्णय सुनाउने प्रवृत्ति सुधार गर्नुपर्ने देखियो। किनकि एउटा परीक्षामा कम अंक आउनु विद्यार्थीको सम्पूर्ण क्षमता होइन। एउटा कमजोर प्रदर्शन उसको पहिचान होइन। कहिलेकाहीँ विद्यार्थीको पढाइ कमजोर हुनुको पछाडि पढाइभन्दा बाहिरका तनाव, पारिवारिक वातावरण, सामाजिक सम्बन्ध, आत्मविश्वासको कमी वा अन्य मनोवैज्ञानिक कारणहरू हुन सक्छन्। त्यसैले व्यवहार र परिणाम देखेर मात्र निर्णय गर्नुको सट्टा कारण खोज्ने संस्कार विकास गर्न आवश्यक छ ।
विद्यार्थीलाई केवल ‘कति नम्बर ल्याएउ?’ भनेर सोध्नुभन्दा ‘कस्तो छौ?’, ‘के सिक्न मन लाग्छ?’, ‘कुन कुराले तनाव दिइरहेको छ?’ र ‘हामी तिम्रो लागि के गर्न सक्छौँ?’ भनेर सोध्ने संस्कार तर्फ अघि बढ्नुपर्ने समय हो ।

विद्यार्थीको भविष्य केवल राम्रो अंकले होइन, स्वस्थ मनोविज्ञान, आत्मविश्वास, रुचि, क्षमता र सकारात्मक वातावरणले निर्माण गर्छ। र क्याम्पस प्रशासनले विद्यार्थी मनोपरामर्श सम्बन्धित कार्यक्रमहरु क्याम्पसको निति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेको छ ।

लेखक आश्मिन धवलागिरी बहुमुखी क्याम्पसबागलुङको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष हुन्