• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

गण्डकी प्रदेशस्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता हुँदै

  • २०८३ भाद्र ११, बिहीबार

बागलुङ । नेपाली मौलिक संस्कृति, परम्परा र तीज पर्वको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले बागलुङ बजारमा गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता हुने भएको छ । प्रबुद्ध युवा समूह बागलुङको आयोजनामा आगामी भदौ २२ गते बागलुङको समीक्षालय चोकमा प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशभरका विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । विद्यालय तहका विद्यार्थीमा मौलिक कला, संस्कृति र परम्पराप्रति रुचि तथा अपनत्व विकास गराउनुका साथै प्रतिभावान विद्यार्थीलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समूहले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई रु. ५५ हजार ५ सय ५५, द्वितीयलाई रु. २७ हजार ७ सय ७७ र तृतीयलाई रु. १५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट कोरियोग्राफी, प्रस्तुति तथा सहभागिताका लागि विशेष सम्मान र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रबुद्ध युवा समूहले समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, कला तथा संस्कृतिको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, संघसंस्था, बैंक, सहकारी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रसँग सहकार्य गरी आर्थिक तथा प्राविधिक सहयोग जुटाइने प्रबुद्ध युवा समूह बागलुङका अध्यक्ष रोहित सुनारले बताउनुभयो । प्रतियोगितामा सांस्कृतिक साँझ समेत आयेजना गरिने भएको छ । कार्यक्रममा रु.७ लाख ६८ हजार खर्च हुने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनको सञ्चालन पत्रकार दिलिप प्रतेलले गर्नुभएको थियो ।

  • २०८३ भाद्र ११, बिहीबार