बागलुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रबुद्ध युवा समूह बागलुङले राहत तथा सहयोगमा हातेमालो गरेको छ ।
समूहले आयोजना गर्न लागेको “गण्डकी प्रदेश स्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३” देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरेको थियो । कार्यक्रमका लागि उठेको रकममध्ये रु. १ लाख सामाजिक तथा मानवीय क्षेत्रमा सहयोगका लागि व्यवस्थापन गरिएको समूहले जनाएको छ । उक्त रकममध्ये रु. ८५ हजार बाढीपहिरो प्रभावितका लागि राहत तथा , रु. १० हजार नेपाल पत्रकार महासंघ बागलुङको लेखनवृत्ति कोषमा जम्मा गरिएको छ भने रु. ७ हजार पत्रकार सम्मेलन तथा अन्य व्यवस्थापन खर्चमा प्रयोग गरिएको समूहले जनाएको छ ।
सनिवार बसेको समूहको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । समुहका अध्यक्ष रोहित सुनारका अनुसार प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले सरकार तथा सम्बन्धित निकायलाई राहत र उद्धार कार्यमा सहयोग पुग्ने गरी विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायतका क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, सडक, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पु¥याएको छ ।