बागलुङ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित बनेकाका लागि बागलुङका महिला समुहले आर्थिक सहयोग गरेका छन् ।
बागलुङ नगरपालिका २ स्थित समृद्धिमार्ग टोल विकास महिला समुहमा आवद्ध महिलाले यसपटकको तीज मनाउने पैसामा आफ्नो सामाजिक सुरक्षा भत्ता समेत मिसाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
राष्ट्रिय विपत्तीमा सरकारलाई साथ दिने उद्देश्यका साथ ७१ हजार २ सय १६ रुपैयाँ बैंकमार्फत कोषको खातामा जम्मा गरेको समुहका अध्यक्ष तारा श्रेष्ठले बताउनुभयो ।
समुहमा आवद्ध रहेका जेष्ठ नागरिक र एकल महिलाहरुले आफ्नो सामाजिक सुरक्षा भत्ताबाट प्राप्त भएको रकम समेत पीडितका लागि सहयोग गरेको श्रेष्ठको भनाई छ ।
सरकारको कोषमा समुहबाट थोरै भएपनि रकम जम्मा गरौँ भनेर दिदीबहिनीसँग सल्लाह गर्दा सबैले साथ दिएर उत्त रकम जम्मा गर्न सम्भव भएको समुहका सचिव डिलादेवी आचार्यले बताउनुभयो ।