बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोका कारण घरबास जोखिममा परेपछि विस्थापित भएका परिवारलाई निसीखोला गाउँपालिकाले राहत वितरण गरेको छ ।
गाउँपालिकाकाले १२ घरपरिवारलाईे राहत सामग्री वितरण गरेको छ । वडा नं ४ चिनारे र वडा नं. ५ चेल्बाङका पहिरो प्रभावित १२ घरपरिवारलाई आइतबार गाउँपालिकाले त्रिपाल तथा खाद्यान्नअन्तर्गत चामल वितरण गरेको हो । वर्षायाममा उक्त क्षेत्रमा मोटरबाटो भासिएर पहिरो जानुका साथै कालोपहिराको ठाडो खोलाबाट आउने लेदो तथा बाढीका कारण जोखिममा परेपछि प्रभावित परिवारहरू आफ्नो घर छाडेर आफन्तजनको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।
बाढीपहिरोका कारण घरबास नै जोखिममा परेपछि विस्थापित हुनुपरेको पीडित परिवारले दुखेसो पोखेका छन् । निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीका अनुसार लगातारको वर्षाका कारण पहिरो जाने क्रम बढ्दै गएको र खोलाबाट आउने लेदो तथा बाढीले थप जोखिम निम्त्याएको छ । प्रभावित परिवारलाई राहत वितरण गर्न निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष प्रेमबहादुर घर्ती, वडा नं. ४ का वडाध्यक्ष टिकानिधि पौडेल, वडा नं. ५ का वडाध्यक्ष हर्कमान घर्ती लगायत गाउँपालिकाको टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।टोलीले पीडित परिवारलाई अस्थायी बसोबासकोलागि त्रिपाल र चामलसहितका राहत सामग्री हस्तान्तरण गरेको हो ।
विपद्को समयमा प्रभावित परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले गाउँपालिकाको तर्फबाट राहत सामग्री वितरण गरिएको उपाध्यक्ष प्रेमबहादुर घर्तीले बताए ।
“विपद्को समयमा प्रभावित परिवारलाई तत्काल केही राहत पुगोस् भन्ने उद्देश्यले त्रिपाल र खाद्यान्न उपलब्ध गराएका हौँ । आगामी दिनमापनि आवश्यकताअनुसार सहयोग र समन्वय गर्ने प्रयास रहनेछ,” उपाध्यक्ष घर्तीले भन्नुभयो ।
घरबास छाडेर आफन्तको घरमा आश्रय लिन बाध्य भएका पीडित परिवारले गाउँपालिकाबाट प्राप्त सहयोगले तत्कालका लागि केही राहत मिलेको बताएका छन् । तर, बस्तीमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले सुरक्षित स्थानमा व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।
