बागलुङ । घण्टाकर्ण अर्थात् गठेमङ्गलको भोलिपल्टदेखि बागलुङ बजारको साँझ लाखेमय बन्ने गर्छ । चोक–चोक र गल्ली–गल्लीमा मुखुण्डो लगाएका लाखे र बालबालिकाको नाचले बजारको माहोल उल्लासमय बन्ने गरेको छ ।
झ्याली र बाजाको तालमा रङ्गीबिरङ्गी पोसाक तथा लाखेको मुखुण्डो लगाएर नाच्ने कलाकारलाई बालबालिकाले ‘चे लाखे भूत’ भन्दै जिस्क्याउने र लाखेले उनीहरूलाई लखेट्ने दृश्यले दर्शकलाई आकर्षित गर्ने गरेको छ । लाखेनाच हेर्न स्थानीयको बाक्लो उपस्थिति रहने गरेको छ । बागलुङ बजारमा तीजसम्म प्रदर्शन गरिने लाखेनाचले नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको छ । विभिन्न चुनौतीका बीच बागलुङका नेवार समुदायले करिब तीन सय वर्षदेखि लाखेनाचलाई निरन्तरता दिँदै आएका छन् ।
शाक्य कल्याण समाज बागलुङको अगुवाइमा घण्टाकर्णको भोलिपल्टदेखि तीजसम्म लाखेनाच प्रदर्शन गरिँदै आएको समाजका स्थानीय अगुवा बाबुलाल शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार झ्याली र बाजाको तालमा दुईदेखि तीन वटा लाखेले रङ्गीबिरङ्गी पोसाकसहित नाच प्रदर्शन गर्ने गरेका छन् ।
घण्टाकर्णलाई राक्षसका रूपमा लिइने र त्यसलाई पराजित गरेपछि पुनः राक्षसको अवतार नदोहोरियोस् भन्ने मान्यताका आधारमा लाखेनाच प्रदर्शन गर्ने परम्परा रहेको शाक्यले बताउनुभयो । “काठमाडौँबाट व्यापारको सिलसिलामा बागलुङ आएका नेवार समुदायले आफूसँगै ल्याएको संस्कारका रूपमा लाखेनाचलाई लिँदै आएका हुन”, उहाँले भन्नुभयो, “भदौरे नाचअन्तर्गत विभिन्न नृत्यसमेत प्रदर्शन गरिन्छ । तीजसम्म बागलुङ बजारको माहोल नेवारी कला र संस्कृतिमय बन्ने गर्छ ।” एक महिनासम्म प्रदर्शन गरिने लाखेनाचमा लाखेको भूमिकामा नाच्ने कलाकार पाउन पछिल्लो समय कठिन हुँदै गएको शाक्यले बताउनुभयो । विगतको तुलनामा युवायुवतीको सहभागिता घट्दै गएको उहाँको भनाइ छ ।
स्थानीय सरकारले लाखे तथा भदौरे नाच संरक्षणमा विशेष ध्यान दिनुपर्ने नेवार समुदायका अगुवा ईश्वरप्रसाद मलेपतीले बताउनुभयो । स्थानीय सरकारले यी नाचलाई आफ्नो सम्पत्तिका रूपमा अपनत्व लिन नसक्दा नेवारी कला र संस्कृति लोप हुने जोखिम बढेको उहाँको भनाइ छ ।
स्थानीय मुकेश राजभण्डारीका अनुसार लाखे तथा भदौरे नाचअन्तर्गतको जोगी नाच शाक्य कल्याण समाजले संरक्षण गर्दै आएको छ भने होवा नाच, रोपाइँ नाच, जोगी नाच र घोडा नाच नेवा ल्याम पुचले प्रदर्शन गर्दै आएको छ । खर्चिलो भएकै कारण नागनागिनी र थेत्तर नाच लोप हुने अवस्थामा पुगेका छन् भने बास्सा नाचसमेत कहिलेकाहीँ मात्र प्रदर्शन हुने गरेको राजभण्डारीले बताउनुभयो ।
