बेङ्लोर । प्रवासी नेपाली संघ भारत, कर्नाटक–केरला संयुक्त राज्य समिति अन्तर्गत पूर्वी नगर समितिले हरितालिका तीज विशेष तथा शोकसभा कार्यक्रम आयोजना गरी रसुवा बाढीपीडितका लागि भारु २६ हजार १५ आर्थिक सहयोग संकलन गरेको छ।
प्राकृतिक विपत्तिका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला तीज कार्यक्रमलाई राहत संकलन अभियानसँग जोडिएको आयोजकले जनाएको छ।
कार्यक्रम नगर उपाध्यक्ष तथा महिला विभाग प्रमुख तिर्सना धमालाको अध्यक्षतामा सम्पन्न भएको थियो। स्मृति खड्काले सञ्चालन गरेको कार्यक्रममा ज्योति बरालले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय सदस्य जगदिश आचार्य र विशिष्ट अतिथि केन्द्रीय समिति सदस्य राजिन्द्र खनाल रहेका थिए। कार्यक्रममा संघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

आयोजकले विपत्तिको समयमा कार्यक्रम रोक्नुको सट्टा त्यसलाई पीडितको सहयोगमा प्रयोग गर्नुपर्ने सन्देशसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ।