• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

वडा अधिवेशन अघि बढाउन बागलुङ कांग्रेसमा कार्यवाहक सभापति

  • २०८३ भाद्र ३१, बुधबार

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया अघि बढाउन बागलुङमा कार्यवाहक सभापति तोकिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार जिल्ला सभापति जीतबहादुर शेरचनले वडा अधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने जनाएपछि जिल्ला उपसभापति तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी पाएसँगै पौडेलले बुधबार जिल्ला कार्यसमितिको बैठक राखेर वडा अधिवेशनको तयारी अघि बढाउनुभएको छ ।

कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । वडा अधिवेशनबाट वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । त्यसपछि असोज ७ गते गाउँ–नगर अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका छ ।

बागलुङसहित कञ्चनपुर, कैलाली, डोटी र मुगुमा पनि कार्यवाहक सभापति तोकिएको कांग्रेसले जनाएको छ । ती जिल्लाका सभापतिहरूले निर्धारित समयमा अधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने जानकारी गराएपछि केन्द्रले कार्यवाहकको व्यवस्था गरेको हो ।

जिल्ला सभापति शेरचनले आफू नियमित महाधिवेशनको पक्षमा रहेको र असोज ३ गतेबाट सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नसक्ने जानकारी केन्द्रलाई गराएको बताउनुभयो ।  “म सुरुदेखि नै नियमित महाधिवेशनको पक्षमा थिएँ । अहिले सभापतिसँगै गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री भएकाले निर्वाचन अघि बढाउन कार्यवाहकको निर्णय भएको होला,” उहाँले भन्नुभयो, “म नियमित महाधिवेशनको पक्षमा अडिग छु र असोज ३ गतेबाट सुरु हुने वडा अधिवेशनमा सहभागी नहुने कुरा केन्द्रसमक्ष राखेको हुँ ।”

  • २०८३ भाद्र ३१, बुधबार