बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका बुर्तिबाङमा दोस्रो ढोरपाटन लायन्स ब्याडमिन्टन कपको तयारी अन्तिम चरणमा पुगेको छ ।
शनिबारदेखि बुर्तिबाङमा सञ्चालन हुने प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन, खेलाडी दर्ता, प्रचारप्रसारलगायतका आवश्यक तयारी पुरा भएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्तिले जानकार दिनुभयो ।
लायन्स क्लब अफ ढोरपाटन, बागलुङको आयोजनामा हुने प्रतियोगिता बुर्तिबाङ ब्याडमिन्टन कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न उमेर तथा स्तरका खेलाडीलाई सहभागी गराउँदै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने तयारी भएको छ । प्रतियोगिताअन्तर्गत ४५ वर्षमाथिको राष्ट्रिय भेट्रान, ५५ वर्षमाथिको राष्ट्रिय सुपर भेट्रान, ‘बी’ लेभल खुला राष्ट्रिय तथा अन्तर धौलागिरी ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष घर्तिले जानकारी दिनुभयो ।
प्रतियोतिामा सहभागी हुन काठमाडौँ,पोखरा,बुटवल,सहित देशका विभिन्न स्थानबाट बुर्तिबाङमा आउने घर्तिले जानकारी दिनुभयो । प्रतियोगितामा एक सय भन्दा बढी समुहको सहभागी हुने छन् । ४५ वर्षमाथि राष्ट्रिय भेट्रान र ५५ वर्षमाथि राष्ट्रिय सुपर भेट्रान विधामा प्रथम हुने खेलाडीले रु. ५० हजार, द्वितीयले रु. ३५ हजार तथा तृतीय हुने खेलाडीले रु. १० हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, ‘बी’ लेभल खुला राष्ट्रिय प्रतियोगितातर्फ पनि प्रथम हुनेले रु. ५० हजार, द्वितीयले रु. ३५ हजार तथा तृतीय हुनेले रु. १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बुर्तिबाङमा यस प्रकारको राष्ट्रियस्तरको प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै क्षेत्रको खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको अध्यक्ष घर्तिको भनाई छ ।