बागलुङ । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका र नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। यसँगै बागलुङ जिल्ला काठेखोला गाउँपालिका–५, बिहु निवासी गिरीबहादुर सुनार साउदी अरबका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । बैठकले उनलाई साउदी अरबका लागि नेपाली राजदूत पदमा सिफारिस गरेको हो ।
सुनार समाजशास्त्री तथा विकास नेता हुन्। उनलाई अन्तर्राष्ट्रिय विकास, नीतिगत सल्लाह र बहुसरोकारवाला सुशासनका क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। विश्व बैंक र एडीबीका ठूला पूर्वाधार कार्यक्रमहरूमा उनले प्राविधिक दक्षता प्रस्तुत गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरेका उनी विद्यावारिधिका शोधार्थी हुन्। उनी ‘इम्पावरिङ वुमेन थ्रु सेल्फ(डिफेन्स’ पुस्तकका लेखक हुन् भने उनका १०० भन्दा बढी नीतिगत लेखहरू प्रकाशित छन्। उनी नेपाली, अंग्रेजी र हिन्दी भाषामा निपुण छन्।
