• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

बागलुङमा कांग्रेसको महाधिवेशन सुरु :  वडा तहबाटै नेतृत्व र प्रतिनिधि छनोट

  • २०८३ आश्विन ३, शनिबार

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया बागलुङमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशनको बाटो अब बागलुङका ८५ वटै वडाबाट खुल्दैछ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार आज र भोलि हुने वडा अधिवेशनका लागि जिल्लाका सबै ८५ वटै वडामा निर्वाचन प्रक्रिया अघि बढाइएको छ । वडा अधिवेशनले वडा नेतृत्वसँगै आगामी तहका अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिसमेत छनोट गर्ने भएकाले बागलुङ कांग्रेसमा महाधिवेशनको चहलपहल वडा तहसम्म पुगेको हो ।
जिल्ला सचिव हरिहर शर्माका अनुसार सबै वडामा अधिवेशनको तयारी पूरा भएको छ । अधिकांश वडामा आजै निर्वाचन प्रक्रिया सम्पन्न हुने र केही वडामा प्राविधिक वा स्थानीय कारणले भोलिसम्म जान सक्ने उहाँले बताउनुभयो ।

“सबै वडामा तयारी छ । अधिकांश वडामा आजै अधिवेशन सम्पन्न हुन्छ । केही वडामा प्राविधिक कारणले भोलिसम्म पनि हुन सक्छ,” शर्माले भन्नुभयो ।
वडा अधिवेशन कांग्रेसको संगठनात्मक संरचनामा सबैभन्दा तल्लो तहको नेतृत्व चयन गर्ने प्रक्रिया भए पनि यसको प्रभाव भने त्यतिमै सीमित हुँदैन । यही अधिवेशनबाट चुनिएका वडा सभापति र क्षेत्रीय प्रतिनिधिले क्रमशः गाउँ–नगर, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्व चयनको प्रक्रियामा भूमिका खेल्नेछन् ।
त्यसैले अहिले बागलुङका ८५ वटै वडा कांग्रेसभित्र नेतृत्व र संगठनात्मक प्रभाव परीक्षण गर्ने पहिलो मैदान बनेका छन् ।

वडामा नेतृत्व, केन्द्रमा २३२ सदस्य

यसपटकको कांग्रेस महाधिवेशन विगतका अधिवेशनभन्दा संगठनात्मक संरचनाका हिसाबले पनि फरक देखिँदैछ । विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति अब २३२ सदस्यीय हुनेछ । त्यसमध्ये १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६१ जना सभापतिबाट मनोनीत हुनेछन् । सात प्रदेश सभापति र प्रतिनिधिसभा संसदीय दलका नेता केन्द्रीय कार्यसमितिका पदेन सदस्य रहने व्यवस्था छ । केन्द्रीय कार्यसमितिमा ११ जना सहमहामन्त्री रहनेछन् । आठ जना सहमहामन्त्री समावेशी समूहबाट निर्वाचित हुनेछन् भने थप तीन जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ ।

३५ वर्षमुनिका युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने गरी पनि विधान संशोधन गरिएको छ । प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । विभिन्न पेशा, व्यवसाय तथा विषयगत क्षेत्रमा सक्रिय रही विशेष प्रवेशमार्फत कांग्रेसमा आबद्ध भएका महाधिवेशन प्रतिनिधिमध्येबाट सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जनसम्पर्क समितिका प्रतिनिधिमध्येबाट पनि छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।
यसपटक सभापतिलाई ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिइएको छ । मनोनयन गर्दा महिला, समावेशी समुदाय, युवा, विभिन्न पेशा तथा क्षेत्र, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक र पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ ।

वडाबाटै सुरु हुन्छ केन्द्रको यात्रा

कांग्रेसको वडा अधिवेशनले वडा सभापतिसहित उपसभापति, सचिव, सहसचिव र वडा सदस्य चयन गर्नेछ । स्थानीय तहअनुसार महिला, दलित र युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था पनि विधानमा छ ।
वडा अधिवेशनको अर्को महत्वपूर्ण पक्ष हो– क्षेत्रीय प्रतिनिधिको छनोट । यही प्रतिनिधिहरूले आगामी गाउँ–नगर तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा भूमिका खेल्नेछन् ।
१५० वा सोभन्दा कम क्रियाशील सदस्य भएका वडाबाट निर्धारित समावेशी संरचनाअनुसार क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । क्रियाशील सदस्य संख्या बढी भएका वडामा सदस्य संख्याका आधारमा थप प्रतिनिधि छनोट हुने व्यवस्था छ ।
यसले गर्दा वडा अधिवेशनमा हुने नेतृत्व र प्रतिनिधि छनोट आगामी अधिवेशनका लागि सामान्य प्रक्रिया मात्र रहने छैन । कुन समूहबाट कति प्रतिनिधि आउँछन् भन्ने कुराले पालिका, क्षेत्र, जिल्ला हुँदै माथिल्लो तहको संगठनात्मक समीकरणमा प्रभाव पार्नेछ ।

असोज ७ पालिका, १० क्षेत्र र १६ देखि केन्द्र

कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशनपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन हुनेछ । असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ ।
त्यसपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको कार्यक्रम तय गरिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि असोज १९ गते मतदान हुनेछ । यसरी कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक निर्वाचन प्रक्रिया बागलुङमा ८५ वटै वडाबाट एकैपटक अघि बढेको छ ।
केन्द्रमा २३२ सदस्यीय कार्यसमिति बनाउने गरी विधान संशोधन गरिए पनि त्यसको पहिलो आधार भने वडा नै हो । वडा तहमा कसले नेतृत्व गर्छ, कसले क्षेत्रीय प्रतिनिधि बन्छ र ती प्रतिनिधिहरूको आगामी तहमा कस्तो भूमिका रहन्छ भन्ने क्रमशः खुल्दै जानेछ ।

त्यसैले बागलुङ कांग्रेसका लागि अहिलेको अधिवेशन वडा नेतृत्व चयन गर्ने मात्र होइन, आगामी नेतृत्वको आधार तयार गर्ने निर्वाचन बनेको छ ।
८५ वडा, सयौँ पद र हजारौँ क्रियाशील सदस्यबीच सुरु भएको यो प्रक्रिया अन्ततः कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनसम्म पुग्नेछ ।

  • २०८३ आश्विन ३, शनिबार