बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङका नेता तथा सामाजिक व्यक्तित्व टिकाराम सापकोटाको निधन भएको छ । बागलुङ नगरपालिका–४ कुडुलेमा वि.सं. १९९३ भदौ ४ गते जन्मनुभएका सापकोटाको शनिबार बिहान पोखरामा निधन भएको हो ।
केही समयदेखि अस्वस्थ रहनुभएका सापकोटा पछिल्लो दुई सातादेखि छोरी सीता कोइरालाको पोखरा, प्रस्याङस्थित निवासमा रहनुभएको थियो । उहाँको त्यहीँ निधन भएको परिवारले जनाएको छ । सापकोटाले बागलुङको सामाजिक तथा राजनीतिक क्षेत्रमा लामो समय सक्रिय रहेर विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । गाउँको मुखियादेखि तत्कालीन कालिका गाउँपञ्चायतको प्रधानपञ्चका रूपमा तीन कार्यकाल जिम्मेवारी सम्हाल्नुभएका उहाँ जिल्ला विकास समिति बागलुङको सभापतिसमेत बन्नुभएको थियो ।
राजनीतिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आबद्ध सापकोटा लामो समय राप्रपा बागलुङको जिल्ला अध्यक्षका रूपमा सक्रिय रहनुभएको थियो । उहाँले करिब तीन दशक पार्टीको जिल्ला नेतृत्वमा रहेर राजनीतिक तथा सामाजिक गतिविधिमा योगदान पु¥याउनुभएको थियो ।
राजनीतिसँगै धार्मिक तथा सामाजिक क्षेत्रमा समेत उहाँको सक्रियता रहेको थियो । उहाँ कालिका भगवती गुठी व्यवस्थापन समितिका पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी बागलुङ जिल्ला शाखाका पूर्व उपसभापति, धवलागिरि माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा सापकोटा कल्याण केन्द्रका अध्यक्षसमेत रहनुभएको थियो । सामाजिक क्षेत्रमा सक्रिय रहँदा सापकोटाले धार्मिक, शैक्षिक तथा सामाजिक संस्थाको विकासमा समेत योगदान पु¥याउनुभएको पारिवारिक तथा सामाजिक स्रोतले जनाएको छ ।
सापकोटाको निधनले बागलुङले लामो समय राजनीतिक, सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय एक पुरानो पुस्ताको नेतृत्व गुमाएको छ ।
उहाँका श्रीमती लिलावती सापकोटा, तीन छोरा र दुई छोरी हुनुहुन्छ । जेठा छोरा झपेन्द्र सापकोटा युरोपबाट नेपाल फर्कने क्रममा रहेको र उहाँ आएपछि अन्त्येष्टि गरिने परिवारले जनाएको छ । माइलो छोरा भूपेन्द्र सापकोटा लण्डनबाट घर आइसक्नुभएको छ भने कान्छा छोरा चुडामणि सापकोटा बागलुङ उद्योग वाणिज्य संघका सदस्य हुनुहुन्छ । कान्छी छोरी बिमला सापकोटा हुनुहुन्छ ।
सापकोटाको अन्त्येष्टिको समय जेठा छोरा झपेन्द्र सापकोटा नेपाल आएपछि तय गरिने परिवारले जनाएको छ ।