बागलुङ । सरकारी तथ्याङ्क अनुसार नेपालमै उच्च गतिमा बागलुङ बजारमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ ।
साउन यता मात्रै बागलुङ जिल्लामा एक हजार ५२७ जनामा डेङ्गु संक्रमण फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको समूह बागलुङ बजारमा परिचालन, नमूना संकलन र अध्ययनमा लागेको हो ।
नेपालमै सबैभन्दा बढी डेङ्गु बागलुङ बजारमा फैलिएपछि डेङ्गु नियन्त्रण गर्न, डेङ्गुको दीर्घकालिन समाधान गर्न र डेङ्गुको अवस्थाको अनुसन्धान गर्न चार जना विज्ञ समूह बागलुङमा आएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बताउनुभयो ।
शर्माका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गोकर्ण दाहालको नेतृत्वमा विज्ञ समूहले तीन दिन यता बागलुङ बजारका घर–घरमा पुग्ने, बिरामीको अवस्था बुझ्ने, धौलागिरि अस्पतालको अनुगमन, किटको अवस्था परिक्षण तथा नमूना संकलन लगायतको काम गरिरहेको छ ।
दाहालसंगै अध्ययनका विज्ञ समूहमा इन्टोमोलोजिस्ट तथा विश्व स्वास्थ्य संगठनका शिशिर पन्त, फिल्ड इपिडिमिइयोलोजीस्ट, एपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखा, स्वास्थ्य सेवा विभागका कौशल सुबेदी हुनुहन्छ । डेङ्गु फैलिएको बागलुङ बजारको एक, दुई, तीन र चार नम्बर वडामा विज्ञ समूह संग स्थानीय स्वास्थ्यकर्मी तीन दिन यता परिचालन भइरहेको छ ।
“बागलुङमा डेङ्गुको चार प्रजातीमध्ये कुन बढी फैलिएको छ भन्ने अध्ययन भइरहेको, अस्पतालमा आएका संकास्पद बिरामीको ३० वटा नमूना संकलन, अस्पतालमा परिक्षण भइरहेको डेङ्गु किटको अवस्था, डेङ्गु नियन्त्रणका लागि नमूना रुपमा घरमै स्वास्थ्यकर्मी परिचालन भइरहेको छ” कार्यालय प्रमुख शर्माले भन्नुभयो “एक सय जना डेङ्गी भएका र एकसय जना डेङ्गी नभएकाको नमूना संकलन, सुक्ष्म अध्ययन तथा अनुसान्धान जारी छ ।”
शर्माका अनुसार डेङ्गु के कारण र कुन भेरियन्ट फैलिएको छ भनेर अध्ययन, घरधुरी सर्वेक्षण गरी डेङ्गु सार्ने लामखुट्टेको भेक्टर अध्ययन, डेङ्गु भएका र नभएकाबीच विश्लेषण, धौलागिरि अस्पतालमा आएका विरामीको रगतको नमुनाको सुक्ष्म अध्यन भइरहेको छ ।
विज्ञको समूहमा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ नगरपालिका स्वास्थ्य शाखा, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका, फेयरमेड फाउन्डेशनले सहजीकरण गरिरहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गोकर्ण दाहाल सहितको समूहले बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठसंग विदेशमा डेङ्गु नियन्त्रणका लागि अपनाइएका विधि लगायत दीर्घकालिन समस्या समस्या समाधानका लागि छलफल समेत गरिएको छ ।
सन् २०२६ को जनवरी १ देखि सेप्टेम्बर १५ सम्म देशभर ५ हजार २ सय ३८ जनामा डेङ्गु संक्रमण पुष्टि भएकोमा बागलुङ नगरपालिकामा मात्रै १ हजार १७ जना बिरामी भेटिएपछि विज्ञ समूह परिचालन भएको हो ।
बागलुङमा डेङ्गुको अवस्था नियन्त्रणबाहिर जान नदिन विज्ञ समूह परिचालन गरेकोे महाशाखाले बागलुङलाई केन्द्रमा राखेर निगरानी र खोज–अनुसन्धान तीव्र बनाएको हो । देशभर डेङ्गु प्रकोप फैलिँदा बागलुङ जिल्ला र विशेष गरी बागलुङ नगरपालिका यसको मुख्य केन्द्र बनेपछि स्वाथ्यकर्मी घरमै पुगेर लामखुट्टेको लार्भा खोज्दै हिडिरहेका छन् ।
