बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहदा बागलुङमा पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष सतहमा देखिन थालेको छ । महाधिवेशनको गाउँ तथा नगर अधिवेशन चलिरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले बागलुङमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेर छुट्टै महाधिवेशनको तयारीका लागि आफ्नो सक्रियता बढाएका हुन् ।
बागलुङ नगरपालिका–२ बाघचोकमा बिहीबार स्थापना गरिएको महाधिवेशन सम्पर्क कार्यालय उद्घाटनमा कांग्रेसका पूर्वसभापतिहरू हरिप्रसाद श्रेष्ठ, मणिभद्र शर्मा कँडेल, दीपेन्द्र थापा र जितबहादुर शेरचनलगायत नेताको उपस्थिति थियो । प्रभावशाली नेताहरूको उपस्थितिमा कार्यालय स्थापना भएपछि जिल्लाको कांग्रेस राजनीतिमा नयाँ शक्ति समीकरणको संकेत देखिएको छ ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेस नेता तथा पूर्वसभापति मणिभद्र शर्मा कँडेलले नियमित महाधिवेशनको विकल्प नभएको बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको असमझदारी अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन नियमित महाधिवेशन आवश्यक रहेको बताउनुभयो ।

“रुख चिन्ह अदालतमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउन नियमित महाधिवेशनको पक्षमा उभिएका हौँ”, उहाँले भन्नुभयो । देउवा पक्षधर कांग्रेस बागलुङका संयोजक सागर छन्त्यालले वडा र पालिका तहदेखि नै महाधिवेशन केन्द्रित गतिविधि तीव्र बनाइएको बताउनुभयो । उहाँले बिपी कोइरालाको विचार र सिद्धान्तलाई आधार बनाएर संगठनलाई अघि बढाउने दाबी गर्नुभयो ।
स्थानीय तहदेखि जिम्मेवारी बाँडफाँट गरी संगठन विस्तार र महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको उहाँको भनाइ छ ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा तथा पालिका तहका अधिवेशन अघि बढिरहेका बेला बागलुङमा देउवा पक्षले औपचारिकरूपमै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो । जिल्लाका प्रभावशाली नेताहरूको उपस्थितिसहित कार्यालय स्थापना भएपछि महाधिवेशनमा नेतृत्व र प्रतिनिधि चयनलाई लिएर जिल्लाको कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।