बागलुङ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीका लागि बागलुङका तीन नेतालाई विभिन्न जिल्लाको जिम्मेवारी दिएको छ । बागलुङमा जीत शेरचन, तनहुँमा मणिभद्र कँडेल र मुस्ताङमा किरणराज पौडेललाई प्रतिनिधिको जिम्मेवारी दिइएको विवरण सार्वजनिक भएको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले समानान्तर महाधिवेशनका लागि ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । रुकुम पश्चिममा भने प्रतिनिधि तोकिएको छैन । देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
देउवा समूहले गण्डकी प्रदेशका जिल्लाहरूमा पनि केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसअनुसार बागलुङमा जीत शेरचनलाई जिम्मेवारी दिइएको छ भने तनहुँमा मणिभद्र कँडेललाई प्रतिनिधि बनाइएको छ । मुस्ताङमा किरणराज पौडेललाई जिम्मेवारी दिइएको हो । काग्रेस इतर पक्ष स्रोतका अनुसार जिल्लागत सूचीमा गण्डकीका गोरखामा नवराज गुरुङ, लमजुङमा पुष्प पराजुली, कास्कीमा शंकर भण्डारी, मनाङमा सीता देवकोटा, पर्वतमा पोषनाथ शर्मा, स्याङ्जामा प्रा।डा। राजेन्द्रराज वाग्ले, म्याग्दीमा ऋषी काफ्ले, र नवलपुरमा गुरु बराललाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
समूहका नेता दीपक खड्काका अनुसार कोशी प्रदेशमा ताप्लेजुङमा प्रताप प्रकाश हङ्गाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार, झापामा कृष्ण हुमागाईं, संखुवासभामा दीपक खड्का, तेह्रथुममा केशव ढुंगाना, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा सुभराम बस्नेत, खोटाङमा सरस्वती बजिमय, ओखलढुंगामा गोमा केसी र उदयपुरमा नारायणबहादुर कार्कीलाई प्रतिनिधि तोकिएको छ । मधेस प्रदेशमा सप्तरीमा मञ्जु यादव, सिरहामा सन्तोष चौधरी, धनुषामा हरेशप्रसाद महतो, महोत्तरीमा उषा राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो। मोख्तार अहमद, बारामा रमेशकुमार निरौला र पर्सामा सुरेन्द्र न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेशमा दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ ‘कान्छाराम’, सिन्धुलीमा सरोजकुमार थापा, रसुवामा बालचन्द्र शर्मा, धादिङमा धर्मराज अर्याल, नुवाकोटमा ध्रुव अधिकारी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा शिवप्रसाद हुमागाईं, चितवनमा कञ्चनचन्द्र वादे, मकवानपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा दयामान कर्माचार्य, ललितपुरमा मदनबहादुर अमात्य र काठमाडौंमा कल्याणी रिजाललाई प्रतिनिधि बनाइएको छ । लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिममा विकास घिमिरे, रुपन्देहीमा गुणाकर भुर्तेल, कपिलवस्तुमा राजेश सिंह, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा बाबुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा सुदिप नरसिंह राणा र बर्दियामा जग्गा पाण्डेलाई प्रतिनिधि तोकिएको सूची सार्वजनिक भएको छ ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमबाहेक अन्य जिल्लामा प्रतिनिधि तोकिएको छ । सल्यानमा दीपक चन्द, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा दीपेन्द्र हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा वखतबहादुर शाही, कालिकोटमा दमनबहादुर शाही, जाजरकोटमा ज्ञानबहादुर शाही, दैलेखमा एकेन्द्रबहादुर पन्त र सुर्खेतमा महेन्द्र शाहीलाई जिम्मेवारी दिइएको छ ।
सुदूरपश्चिम प्रदेशमा बाजुरामा हर्कजंगबहादुर सिंह, बझाङमा सीताराम जोशी, डोटीमा अर्जुन तामाकार, अछाममा कविराज पण्डीत, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चित्तामणी भट्ट, डडेलधुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
देउवा समूहले यसअघि ५५ जिल्लामा समानान्तर महाधिवेशनका लागि जिल्ला संयोजकसमेत तोकिसकेको छ । गण्डकीमा बागलुङको संयोजकमा सागर छन्त्यालसहित अन्य जिल्लामा पनि जिम्मेवारी बाँडिएको छ ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर दुई धारबीच संगठनात्मक तयारी समानान्तर रूपमा अघि बढिरहेका बेला बागलुङका तीन नेता मध्ये जीत शेरचनले आफ्नै जिल्ला तथा मणिभद्र कँडेल र किरणराज पौडेलले क्रमशः तनहुँ र मुस्ताङको जिम्मेवारी पाएका छन् ।