• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

तमानखोलामा ‘विष्णु भगवानको अवतार’ भन्दै सिफारिस: अध्यक्ष बुढा भन्छन् ,‘सिफारिस दिएकै हो’

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाबाट ‘विष्णु भगवानको अवतार’ भएको भन्दै सिफारिस गरिएको विषय अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरको हस्ताक्षर रहेको एउटा सिफारिसपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका हुन् । पत्रमा वडा नं एक हिजा निवासी पुन्टे कामीको छोरा जस बहादुर कामीलाई ‘भगवानको अवतार’ भएको उल्लेख गर्दै सिफारिस गरिएको देखिन्छ ।

सामाजिक सञ्जालमा उक्त विषयलाई लिएर कतिपयले सकारात्मकभन्दा बढी नकारात्मक तथा आलोचनात्मक टिप्पणी गरेका छन् । स्थानीय तहबाट व्यक्तिको धार्मिक वा आध्यात्मिक पहिचानसँग जोडिएको विषयमा यस्तो सिफारिस गरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् ।

यस विषयमा गाउँपालिका अध्यक्ष जोकलाल बुढासँग सम्पर्क गर्दा उहाँले सिफारिस गरिएको स्वीकार गर्नु भयो । “पत्रमा जेलेखिएको छ त्यही हो”अध्यक्ष बुढाले भन्नुभयो ।घटनाको विषयमा अध्यक्ष बुढाले थप कुरा भने गर्न चाहनु भएन । अध्यक्ष बुढाले २०८१ भाद्र ७ गते सिफारिस गर्नु भएको पत्रमा उल्लेख छ ।

अध्यक्ष बुढाका अनुसार सम्बन्धित व्यक्तिको मागका आधारमा सिफारिस गरिएको हो । सामाजिक सञ्जालमा फैलिएको पत्रमा गाउँपालिकाको लेटरहेड प्रयोग गरिएको र अध्यक्ष बुढाको हस्ताक्षर तथा छापसमेत देखिन्छ ।