बागलुङ । अविरल वर्षासँगै निसीखोलामा आएको बाढीले बागलुङको निसीखोला गाउँपालिका–४ मा ठूलो क्षति पु¥याएको छ ।
आइतबार बिहान निसीखोलाको बहाव अस्वाभाविक रूपमा बढेपछि आएको बाढीले झिवाखोला बजार र कानाबगर क्षेत्रका घर तथा भौतिक संरचनामा क्षति पु¥याएको हो ।
बाढीका कारण वडा नं. ४ अन्तर्गत झिवाखोला र कानाबगर क्षेत्रमा गरी ३० घर बाढीले बगाएर बगरमा परिणत गरेको वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले कानाबगरमा ७ वटा घर तथा झिवाखोला बजार क्षेत्रमा २३ वटा घरमा ठूलो क्षति पु¥याएको छ ।
आइतबार बिहानदेखि निसीखोलाको पानीको सतह तीव्र रूपमा बढेपछि झिवाखोला बजारको तल्लो पुरानो बजार क्षेत्रमा बाढी पसेको थियो । अचानक आएको बाढीका कारण स्थानीयले घरभित्र रहेका सामान तथा अन्य सामग्रीसमेत केही स्थानमा सार्न सके भने केही ठूलो क्षति व्यहोर्नुपरेको छ । बाढीले घर तथा संरचना बगाएपछि झिवाखोला र कानाबगर क्षेत्रको अवस्था अहिले बगरजस्तै बनेको छ । बाढीको बहावले घरको जग तथा आसपासको जमिन कटान गर्नुका साथै स्थानीय संरचनामा समेत क्षति पु¥याएको वडाध्यक्ष पौडेलले बताउनुभयो ।
“कानाबगरमा ७ घर र झिवाखोला बजारमा २३ घरमा क्षति पुगेको छ । थप २३ घरमा आंशिक क्षति भएको छ । जोखिम भने अझै कायमै छ,” वडाध्यक्ष पौडेलले भन्नुभयो ।
बाढीका कारण घरमा क्षति पुगेपछि पीडित परिवारहरू सुरक्षित स्थानको खोजीमा लागेका छन् । घर बस्न योग्य नरहेपछि कतिपय परिवार विभिन्न विद्यालय, वडा कार्यालय तथा आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य भएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । पुनः वर्षा भएमा निसीखोलाको बहाव बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीमा थप जोखिम रहेको स्थानीयले बताएका छन् । बाढीका कारण विस्थापित परिवारको तत्काल व्यवस्थापन, क्षतिको विवरण संकलन तथा जोखिममा रहेका अन्य परिवारलाई सुरक्षित स्थानमा सार्ने काम चलिरहेको उहाँको भनाई छ ।
बाढीपछि स्थानीय तह तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने र क्षतिको विवरण संकलन गर्ने काम अघि बढाउने तयारी गरेका छन् । स्थानीयले भने तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा आवश्यक राहत सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । अविरल वर्षाका कारण निसीखोलामा एकै परिवारका ४ जनासहित बागलुङ जिल्लामा १२ जनाको मृत्यु भएको थियो । भने एक जना अझै बेपत्ता हुनुभएको छ । तमानखोला–३ मा पहिरोले ८ घर बगाएको छ ।
यस्तै पहिरोले घर पुरिदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपाली र हस्तविर श्रीपालीको श्रीमती बेपत्ता हुनुभएको छ ।
पहिरोमा पुरिएर निसीखोला गाउँपालिका – ३ हरधारामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ३६ वर्षीया श्याम कुमारी बिक, उहाका छोराहरू १३ वर्षीय मनोज बिक, ८ वर्षको मुकेश बिक र तीन वर्षीय निशान बिकको मृत्यु भएको छ । यस्तै पहिरोले गोठ पुरिदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सुर्य बहादुर घर्तीको मृत्यु भएको छ ।
शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिदा ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको थियो । ताराखोलाकै वडा नं ५ सिपमा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । पहिरोले घर परिदा ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।
बाढीले निसीखोला क्षेत्रको मध्यपहाडी लोकमार्गमा समेत क्षति पु¥याएको कारण सडक सञ्जालबाट समेत टाढिएको छ । यसैक्रममा सोमबार गण्डकी प्रदेशमा अर्थमन्त्री जीत शेरचनसहितको टोली हेलिकप्टर मार्फत राहत सामग्री सहित बाढी प्रभावित क्षेत्रमा पुग्नु भएको छ ।
