• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

धुलो उडाउँदै जहाज आउथे, अहिले कालोपत्र हुँदा आएनन्

 बागलुङ
बागलुङको बलेवा विमानस्थालमा २०४८ साल सम्म धुलो उडाउदै विमान अवतरण र उडान हुन्थे । त्यसयता बागलुङ पोखरा राजमार्ग विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भयो । स्थानीयले जग्गा खनेर २०२२ सालमा निर्माण गरेको विमानस्थल चलाउन पहल भने नभएको होइन । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थल अहिले सुनसान छ । बन्द भएको विमानस्थलमा समय–समयमा चाटर्ड उडान भने भइरहन्थे । तर बागलुङ नगरपालिकाले २६ वर्षपछि विमानस्थल सञ्चालनमा ल्याउने प्रयास थाल्यो ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धसलाम्मे र वर्खामा हिलाम्मे धावनमार्गमा उडानसमेत भरेका थिए त्यसपछि विमानस्थल बन्द भयो र धावनमार्ग कालोपत्र थालियो । तर धावनमार्ग कालोपत्र भएको चार वर्ष बित्नै लाग्यो तर कालोपत्र धावनमार्गमा एकपटक समेत जाहाज आउन सकेको छैन ।

बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालनमा ल्याउन हप्तामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले ब्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको विमानस्थल धावनमार्ग पक्की बनेपछि ठप्प बनेको हो । कालोपत्र भएर चिटिक्क बनेको विमानस्थलमा अहिले सम्म परिक्षण उडान समेत नभएको बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडा अध्यक्ष तथा बागलुङ नगरपालिकाका प्रवक्ता चक्र बहादुर खत्रीले बताउनुहुन्छ ।

उहाँले बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेको बताउदै पटक–पटक जहाज चलाउन पहल भएपनि सार्थकता पाउन नसकेको बताउनुभयो । “पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई विमानस्थल अवलोकन समेत गराइयो, धुलो उडाउदै उड्ने जहाजहरु कालोपत्र हुँदा आएनन्, विमानस्थलमा उपकरणहरु चुस्त र सुरक्षित रहेका छन्” खत्रीले भन्नुभयो “राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रको चरणमा रहेकाले कालोपत्र भइसक्दा यात्रु सहज ढंगले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल चल्न सक्दछ, नगरपालिकाले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाईट जस्ता शाहसिक उडानका लागि पहल गरिरहेको छ ।”

पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले समेत विमानस्थल चलाउन पहल गर्ने भनिएपनि निजी क्षेत्रका एयरलाइन्सहरुले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेको बताउनुभएको खत्रीले जानकारी दिनुभयो । धावनमार्ग कालोपत्र, तारबार, टावर मर्मत तथा विमान पार्कीङ लगायतको काम सम्पन्न भएको चार वर्ष वित्दा समेत परिक्षण उडान समेत हुँन नसक्नु दुखद् भएको बागलुङ नगरपालिकाका पूर्व नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

हाम्रो पालामा कालोपत्र भएको विमानस्थल चलाउन अहिलेको जनप्रतिनिधिले पल गर्न आवश्यक रहेको बताउनुभयो । तत्तकालिन अवस्थामा आफूले नगरपालिकाको रु. १० लाख धरौटी राखेर विमानस्थल चलाएको बताउदै धावनमार्ग कालोपत्रपछि अहिलेको जनप्रतिनिधिले विमानस्थल चलाउन पहल नगरेको बताउनुभयो ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्ने विमानस्थलको निकै संभावना भएपनि विमानस्थल चलाउन नसकिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्विकार गर्नुभएको छ । उहाँले नगरपालिकाको पहलले मात्रै विमानस्थल चलाउन समस्या रहेको बताउदै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेमा मात्रै विमानस्थल चल्ने बताउनुभयो । विमानस्थलको ७०० मिटर लामो धावनमार्ग कालोपत्र गरेर चिटिक्क पारेपनि अहिले सम्म जहाज आउन नसकेको हो ।

चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको विमानस्थल हवाईजहाजको पर्खाइमै चार वर्ष वितिसकेको छ ।नागरिक उड्डयन प्राधिकरणले रु. ८ करोड खर्चेर चार वर्ष अघिमात्रै विमानस्थल कालोपत्र तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो । विमानस्थलमा गरेको लगानी जहाज नआउदा बालुवामा पानी जस्तै भएको राम शर्माले बताउनुहुन्छ ।

यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्नेछन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक छ उक्त सडक कालोपत्रको चरणमा रहेको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र सम्पन्न भएपश्चात विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला निकाय बताउछ ।