• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

काठेखोलामा रास्वपा संगठित : ५ वटा वडामा सभापति चयन

आदर्शसञ्चार, बागलुङ
नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङको काठेखोलामा संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ ।

४ दिनसम्म ८ वटै वडामा घरदैलो गरेको रास्वपाले शनिवार काठेखोलाका ५ वटा वडामा सभापति चयन गरेको छ । पहिलो चरणमा सभापति चयन गर्ने र जिल्ला पार्टीसंगको समन्वयमा कमिटिलाई पूर्णता दिने गरी अगाडि बढेको रास्वपाबाट गत संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ का उमेदवार खिमानन्द कंडेलले जानकारी दिनुभयो ।

पार्टीमा सहभागी हुने कार्यकर्ताहरुको संख्या दिन प्रतिदिन बढेको छ, रास्वपा नया पार्टी हो, कमिटि गठन गर्नलाई सदस्यता लगायतका विषय मिलाउनु पर्ने भएकाले जिल्ला कमिटिसंगको समन्वयमा वडा कमिटि र पालिका कमिटिलाई पूर्णता दिन्छौ, कंडेलको भनाइ छ ।

शनिवार विहु सुल्डाडामा सम्पन्न भेलाले काठेखोला वडा नं. २ भीमापोखरामा ओम बहादुर केसी, वडा नं. ४ तंग्राममा नगेन्द्र पुन, वडा नं. ५ उपल्लो विहुमा भूमिश्वर कंडेल, वडा नं. ६ तल्लो विहुमा धनपती निउरे र वडा नं. ७ रेशमा गिरी बहादुर कुँवरलाई सभापति चयन गरेको छ । वडा नं. २ धम्जामा यस भन्दा अगाडि नै ध्रुव केसी सभापति रहेको वडा कमिटि गठन भएको छ । वडा नं. १ पाला र वडा नं. ८ लेखानीमा वडा सभापति चयन भएको छैन । सम्बन्धिन वडाका जिम्मेवार साथीहरुसंग सर सल्लाह हुदैछ, वडा स्तरमै भेला मार्फत कमिटि गठन गरिने रास्वपा गण्डकी प्रदेश संगठन विभागका सदस्य खिमानन्द पौडेलले जानकारी दिनुभयो ।

नयाँ पार्टी हो, नयाँ मान्छे र अन्य पार्टीमा विद्रोह गरेर आएका कार्यकर्ताहरुलाई जिम्मेवारी दिइने भएकाले समन्वय भैरहेको पौडेलको भनाइ छ । पालिका स्तरीय भेलामा बोल्दै रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमले जनताले विकास र स्थायित्वका लागि विकल्प खोजेका छन्, रास्वपालाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन आम जनताको साथ लिएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

मुलुकको आर्थिक विकासका वैकल्पिक शक्तिका रुपमा जनताले रास्वपालाई अगाडि बढाउन चाहेको कुरा २०७९ को आम निर्वाचनमा पाएको मतबाट प्रस्ट नै छ, २०८४ को आम निर्वाचनबाट रास्वपाको नेतृत्वमा बहुमत सहितको सरकार निर्माण गर्ने योजनाका साथ पार्टी अगाडि बढेको गौतमको दावी छ ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष मिना आचार्य, जिल्ला अध्यक्ष महेन्द्र खड्का, २०७९ को संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नं. १ का रास्वपा उमेदवार खिमानन्द कंडेल, प्रदेश संगठन विभाग सदस्य खिमानन्द पौडेल, जिल्ला उपसभापति ढालेन्द्र रायमाझी, क्षेत्रीय सभापति बालकृष्ण शर्मा, बागलुङ नगरपालिकाका सभापति राम प्रसाद अधिकारी, वडा सभापतिहरुको तर्फबाट बडिगाडका रमेश घिमिरे लगायतले संगठन निर्माण लगायत पार्टी विस्तारका विषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा समाजसेवी जब्बर बहादुर लामिछाने र पूर्व शिक्षक समाजसेवी रमानन्द कंडेलले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम काठेखोला गाउँपालिका वडा नं. ६ का सभापति धनपति निउरेको अध्यक्षता, पालिका सभापति ओम प्रसाद न्यौपानेको स्वागत र जिल्ला सचिव बबिन नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।