• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

कृपया सार्वजनिक सम्पत्ति नजलाउ

सम्पादकीय
पछिल्लो २४ घण्टा नेपाल र नेपालीको इतिहासमा भयानक घटनाहरु भयो । पछिल्लो १३ वर्षदेखि २७ वर्ष उमेर पुगेका जेनजीको आव्हानमा भएको आन्दोलनमा २१ जना भन्दा बढीको ज्यान गयो । १९ जनाको सोमबार जम्मा ३ घण्टाको अन्तरालमा नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्ने क्रममा प्रहरीको गोली लागेर ज्यान गयो । सरकार नवीन पुस्ता अधिकांश विद्यार्थीहरु सहभागी आन्दोलनमा चरम दमनमा उत्रियो । जेनजीको आन्दोलनलाई कम आँकलन गरेर यथोचित पूर्ववत सुरक्षा घेरा, तयारी नगर्दा सरकार क्रुरता प्रदर्शन गर्ने अवस्थामा पुग्यो । यही कारण ठुलो संख्यामा ज्यान गुमाए पछि मंगलबार विहानैदेखि प्रदर्शनकारीले आन्दोलन नेताहरुको घर केन्द्रित गरे । उनीहरुले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत शीर्ष नेताको घरमा आगजनी गरे । देउवा दम्पत्ति लगायत केही नेताहरु माथि निर्घात कुटपिट गरे । सार्वजनिक सम्पत्तिमा अनपेक्षित आगजनी र तोडफोड गरियो । अन्ततः प्रधानमन्त्री ओलीले राजीनामा दिन बाध्य मात्र भएनन्, सुरक्षा खोज्दै बालुवाटारबाट भाग्नुपर्ने अवस्था पैदा भयो ।

दिउँसो प्रधानमन्त्रीले मार्गप्रशस्त गर्न राजीनामा दिए पनि प्रदर्शनकारी झन् भन्दा झन् उग्र बन्दै गए । प्रदर्शनकारी मंगलबार ध्वंसात्मक हिसाबमा उत्रिँदा सरकारी सम्पत्ति मात्र नभई निजी सम्पत्ति माथि पनि तोडफोड, लुटपाट र आगजनी हुन पुगेको छ । सरकारले बिहानैदेखि काठमाडौं चक्रपथ भित्र कफ्र्यु आदेश जारी गरे पनि जेनजी त्यसको बेवास्ता गर्दै स्वतःस्फूर्त सडकमा पुगे । सुरुमा ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरेको जेनजीमाथि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेपछि थप उत्तेजित भिडले सरकारी कार्यालयलाई मात्र निशाना बनाएन, निजी सम्पत्ति माथि पनि एक्कासि तोडफोड, लुटपाट र आगजनी गर्न थाल्यो । दिनभरमा नेपालको संसद भवन मात्रै होइन, सिंहदरबार, सर्वोच्च अदालत, सडक विभाग लगायतका दर्जनौ सरकारी कार्यालयमा आगो लगाएर ध्वस्त बनाए । नक्साल स्थित हिल्टन होटल, भाटभटेनी, सतुंगल स्थित सीजी इलेक्ट्रोनिक्स, तीनकुने स्थित सिम्रिक एयरको कार्यालय, बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिले सञ्चालन गरेको व्यावसायिक भवन लगायतमा लुटपाट, तोडफोड गरेर आगजनी गरे । प्रदर्शनकारीले चितवन र विराटनगरमा रहेका भाटभटेनी सुपर स्टोर पनि तोडफोड गरेर लुटपाट गरेका छन् । यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।

आन्दोलनको नेतृत्व गरिरहेको जेनजी शान्तिपूर्ण आन्दोलन भनिरहेको छ । जसमा धेरैको साथ समर्थन थियो । तर, यसरी सरकारी सार्वजनिक र निजी क्षेत्रको सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गरिनु अराजक मात्र होइन, भत्र्सनायोग्य कार्य हो । जेनजी आन्दोलनमा ठुलो संख्यामा मानवीय तथा भौतिक क्षति भए पनि राज्य सत्ता अब जेनजी पुस्ताको हातमा आइपुगेको छ । यसले अबका दिनमा केही सम्भावना त देखाएको छ तर, अहिले प्रधानमन्त्रीको राजीनामा, राष्ट्रपति, प्रधानसेनापतिबाट वार्ता निकासका लागि गरिएको अपिलका आधारमा संवादबाट अबको समाधान खोजिनु पर्छ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीँ कतैबाट पनि सिर्जना गरिनु हुँदैन । जेनजीको नाममा घुसपैठ या अराजक समूहबाट भइरहेका तोडफोड र आगजनी रोक्न जेनजी आन्दोलन आयोजक, नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकाय सबै जिम्मेवार बन्नुपर्छ ।