• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

लैङ्गिक हिंसा : महिला र दलितमा सबैभन्दा बढी पीडित

बागलुङ । पेट दुख्यो, ज्वरो आयो भन्दै बिरामी अस्पताल आउँछन् । चेकजाँचको क्रममा उनिहरु हिंसामा परेको थाहा हुन्छ । यो भनाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमिट ढुङ्गानाको हो । केहि समय पहिले अत्याधिक ज्वरो आयो भनेर उपचारका लागि अस्पताल आएकी १३ वर्षिया बालिकाले असुरक्षित गर्भपतन गरेको पाइयो । ज्वरोको उपचार गराउन आमासँग अस्पताल आएकी बालिकाले गर्भपतन गराएको परिवारलाई जानकारी नै थिएन् ।

‘उनले आफ्ना प्रेमीसँग मिलेर असुरक्षित गर्भपतन गराएकी रहिछन्’ ढुङ्गानाले भन्नुभयो ‘लामो समयको मनोविमर्ष पछि उनले स्वास्थ्यकर्मीलाई बताइन् स्वास्थ्यमा गम्भिर समस्या आइसकेको थियो ।’ लडेर चोट लागेको, पेट दुखेको र विभिन्न समस्या भएको भनेर उपचारका लागि आउनेहरु उपचारको क्रममा श्रीमान, घरपरिवार र प्रेमीबाट हिंसामा परेको खुल्ने गरेको उहाँको भनाई छ । अस्पतालमा आर्थिक वर्ष ०७९/०८०मा १०६ जना हिंसा पीडित महिलाको उपचार गरिएको छ । जसमध्ये २८ जना बलात्कारमा परेका थिए । १० जना शारिरीक र ४० जना मानसिक रुपमा विक्षिप्त रहेका थिए ।

आर्थिक वर्ष ०८०/०८१मा पनि १०६ जना हिंसा पीडित महिलाको अस्पतालमा उपचार भएको छ । जसमध्ये ११ जना बलात्कार, १८ जना शारिरीक र ५५ जनाको मानसिक स्वास्थ्य सम्बन्धी उपचार गरिएको छ ।आर्थिक वर्ष ०८१/०८२मा ७६ जना महिलाको उपचार गरिएको छ । जसमध्ये १९ जना बलात्कार, ३४ जना शारिरीक र १५ जना मानसिक रुपमा विक्षिप्त भएका महिला थिए । महिलाको मात्र होइन् अस्पतालमा उपचारका लागि आउने हिंसामा परेका पुरुषको संख्या पनि उल्लेख्य छ । ०७९/८० मा १६ जना, ८०/०८१मा १६ र ०८१/०८२ मा १२ जना हिंसा पीडित पुरुषको उपचार गरिएको छ ।

उमेरसमूह अनुसार सबैभन्दा बढी हिंसामा पर्ने १९ देखि ४९ वर्षसम्मको समुह रहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङको अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन देवी भट्टराईले बताउनु भयो । आर्थिक वर्ष ०७९÷८०मा १४ वर्षसम्मका १६ जना, १५ देखि १८ वर्षसम्मका २३ जना, १९ देखि ४९ वर्षसम्मका ७६ जना, ५० देखि ६० वर्षसम्मका ५ र ६० वर्ष माथिका २ जना हिंसा पीडितले अस्पतालबाट सेवा लिएका छन् ।

०८०/०८१मा १४ वर्षसम्मका ९ जना, १५ देखि १८ वर्षसम्मका १७ जना, १९देखि ४९ वर्षसम्मका ८१ जना ५० देखि ६० वर्षसम्मका ८ जना र ६० वर्षमाथिका ७ जनाको उपचार गरिएको छ । आर्थिक वर्ष ०८१/०८२मा १४ वर्षसम्मका ८ जना, १५ देखि १८ वर्षसम्मका ११ जना, १९ देखि ४९ वर्षसम्मका ५६ जना, ५० देखि ६० वर्षसम्मका ७ जना र ६० वर्षमाथिका ३ जना हिंसा पीडितको उपचार गरिएको छ ।  जातिगत रुपमा हेर्दा सबैभन्दा धेरै हिंसा दलित समुदायका महिलामाथी भएको देखिन्छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसा पीडित र प्रभावितका लागि निशुल्क स्वास्थ्य उपचार र परामर्श सेवा प्रदान हुँदै आएको भन्दै उहाँले यहाँबाट निशुल्क सेवा प्रदान हुन्छ भन्ने बारेमा आम नागरिकमा जानकारी नहुँदा धेरै पीडितहरु सेवा प्राप्त गर्नबाट छुटेको बताउनु भयो ।