म्याग्दी । जिल्ला कारागार शाखा म्याग्दीबाट भागेका ३९ जना कैदीबन्दीहरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार बुधबार भागेका कैदीबन्दीहरु मध्ये चार दिनको अवधिमा ३९ जनाालाई प्रहरीले नियन्त्रण गरेको छ । कारागारबाट ७६ कैदी भागेका थिए । ३७ जना कैदी बन्दीहरु अझै फरार रहेको पौडेलले जानकारी दिनुभयो ।
जिल्ला कारागार कार्यालय म्याग्दीका जेलर प्रतिज्ञा सुवेदीका अनुसार विभिन्न कसुरमा कैद भुक्तानी गरी रहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरु गरी ८८ जना मध्ये ७६ जना फरार भएका थिए । कैदी बन्दीहरु भागेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३क) बमोजिम बेनी नगरपालिकाको ६ वटा वडाहरुमा कफ्र्यु आदेश जारी गरेको कफ्र्यु शनिबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार हटाएइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।
बुधबार बिहान १०ः२५ बजे देखि शुरु भएको कफ्र्यु आदेश शनिबार बिहान ७ बजे देखि हटाइएको उहाँको भनाई छ । पूर्व तर्फ म्याग्दी र पर्वतको सिमाना, दक्षिण तर्फ म्याग्दी र बागलुङको सिमाना साथै अर्थुङ्गे र गलेश्वर क्षेत्र अन्तगत पर्ने बेनी नगरपालिकाको १, २, ६, ७, ८ र ९ नम्बर वडा भित्रका सम्पूर्ण भूभागमा कफ्र्यु आदेश जारी गरेको थियो ।
यसैबीच २५ गते बुधबार बिहान कारागार कार्यालय तोडफोग गर्न पुगेका समूह मध्ये प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाले बताउनुभयो । कारागार ऐन २०७९ को परिच्छेद ८ को कसुर तथा सजाय अन्तरगत दफा ४९ कसुर तथा सजायको उपदफा २ मा कसैले कुनै बन्दीलाई भगाएमा वा भगाउने उद्योग गरेमा तीन वर्ष सम्म कैद वा ३० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै हुने छ भन्ने उल्लेख छ ।
सोही दफा अनुसार जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत म्याग्दीबाट पहिलो ७ दिन म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । कारागार तोडफोड गरी १५ जना भन्दा बढी कारागार भित्रै पुगेर कैदी बन्दीलाइ भगाएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।
