बागलुङका अगुवा सुन्तला किसान टोप बहादुर खड्काले असोजमै सुन्तला फलाउनुभएको छ । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा भएपनि बागलुङ नगरपालिका–८ सिगानाका किसानले असोजमै सुन्तला फलाउनुभएको हो । खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् ।
खड्काको मौसमी २०० सुन्तलाका बिरुवा छने भने बेमौसमी रुपमा पाक्ने २५ बोट सुन्तलाका छन् । अहिले २५ मध्ये १० वटा सुन्तलाको बोटमा सुन्तला पाकेको र एक सय केजी सुन्तला बजारमा बिक्री गरिसकेको खड्काले बताउनुभयो । अहिले पाकेका सुन्तला उन्सु जातको रहेकोर यस लगत्तै पोङ्कान जातको सुन्तला पाक्ने खड्काको भनाई छ । बोटमा अझै एक सय केजी भन्दा बढी सुन्तला बजार पठाउने तयारीमा हुनुहुन्छ ।
“सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार गर्ने लक्ष्य लिएको छु, सानो बोटमा धेरै सुन्तला फल्ने भएकाले यसको व्यावसायिक उत्पादनको भविश्य छ” खड्काले भन्नुभयो “सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ, यो समयको सुन्तला बजारमा बिक्री नहुने कुरै भएन, सुन्तला गाउँमा असोजमै सुन्तला पाकेको सन्देश दिन समेत सफल भइयो ।” सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले सुन्तलालाई टेको लगाउनुभएको छ । चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएको उहाँले सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख कमाउदै आउनुभएको छ ।
छ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका बेमौसमी नौ जातका १०० सुन्तलाका बोट खड्काकोमा छन् भने कात्तिक मंसिरमा फल्ने सुन्तलाको २०० बोट रहेका छन् ।
कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्ने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाएको सुनाउनुभयो । नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानीज जातका सुन्तला लगाउनुभएको छ ।
व्यावसायिक उत्पादन गर्न सके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा दोब्बर पर्ने खड्काले बताउनुभयो । चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएको खड्काले हालसम्म १० प्रजातिका सुन्तलाका विरुवा लगाएका लगाउनुभएको छ । उहाँसंग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ ।
मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, नास्पती, हलुवाबेद,अलैँची, तरकारीको समेत खेती गर्दै आएका खड्का बागलुङकैै अगुवा कृषकका रुपमा चिनिदै आएका छन् । बाह्रै महिना सुन्तला उत्पादन गर्ने गरी बेमौसमी सुन्तलाका बिरुवा विस्तार गरिरहेको खड्काको भनाइ छ ।
