म्याग्दी । बिहीबार १५१औँ विश्व हुलाक दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा हुलाक कार्यालयमा अन्तर कर्मचारी हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितासहित सञ्चारकर्मी र कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो ।
जिल्ला हुलाक कार्यालयमा आयोजित कार्यक्रममा म्याग्दीकाली एफ.एम.का स्टेशन म्यानेजर राकेश शर्मालाई सम्मान गरिएको छ । शर्मालाई नगदसहित सम्मान गरिएको थियो ।
हुलाक कार्यालय अन्नपूर्ण गाउँपालिकामा कार्यरत हलकारा किशर तिलिजा, अतिरिक्त हुलाक कार्यालय कुईनेमङ्गलेका हलकारा नरमान छन्त्याल, रुमका हलकारा डिलबहादुर पुन र अतिरिक्त हुलाक कार्यालय दोवाका कार्यालय सहयोगी चबहादुर चोचाङ्गीलाई सम्मानपत्र तथा नगद सहित पुरस्कृत गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला हुलाक कार्यालय म्याग्दीका खरिदार मिनबहादुर बरुवाल र मालिका गाउँपालिका हुलाक कार्यालयका खरिदार ताराप्रसाद छन्त्याललाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । हुलाक कार्यालय अन्नपूर्णका हलकारा विनोद पुन, जिल्ला हुलाक कार्यालयका ह्लकारा रमेश शर्मा, यज्ञबहादुर खत्री, कार्यालय सहयोगी तुलबहादुर खत्री र अतिरिक्त हुलाक कार्यालय रुमका वितरक धनमाया पुनलाई पनि सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले ऐतिहासिक महत्व बोकेको हुलाकका सेवालाई समयसापेक्ष प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले हुलाकमार्फत राष्ट्र र नागरिकको बीचमा जोड्ने ‘सेतु’को काम भैरहेको बताउँदै जिल्ला हुलाक कार्यालयले बनाउने आईसिटी पार्क निर्माणमा स्थानीय प्रशासनको तर्फदेखि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष गौतमले हुलाक सेवाले गरेको द्रुत विकासले सूचना सम्प्रेषणको विकासमा ठूलो सहयोग पुगेको बताउँदै हुलाकको सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
