सम्पादकीय
जेनजी आन्दोलन नेपाली इतिहासमा एक अविस्मरणीय दिनका रुपमा दर्ज भइसकेको छ । एउटा यस्तो आन्दोलन, जसले ४८ घण्टामै दुई तिहाई बहुमत प्राप्त सत्तालाई बहिगर्मन मात्र गरेन, मोवाइलमा सीमित र एडिग भइरहेको आरोप खेपिरहेका जेनजी पुस्ताको असामान्य अद्भुत शक्ति पनि प्रर्दशित भयो । जसले वर्षौदेखि सत्तालाई म्युजिकल चियर जस्तो बनाएर आलोपालो सत्ता चलाइरहेका मूलधारका राजनीतिक शक्तिलाई अबको राजनीतिमा सक्रिय र समर्पित हुन सोचनीय बनाइदियो । उनीहरुलाई मात्र होइन, अहिले गर्न थालेका र अब गर्नेहरुलाई पनि जनजीविका, सुशासन र समृद्धिका सवालमा महत्वपूर्ण पाठ दिएको छ । तर, जेनजी आन्दोलनको दिनहरु क्रमशः बित्दै जाँदा आन्दोलनमा बलिदान, त्याग र समर्पण गर्नेहरुको भूमिकालाई नजर अन्दाज गर्न थालिसकिएको छ । अर्कोतर्फ आन्दोलनकै नाममा पुरै देश तहसनहस हुने गरी ध्वंस भएको छ, जसमा जेनजी भन्दा पनि आपराधिक समूहकै ठुलो संलग्नता रहेको खुल्न थालेको छ ।
आन्दोलनको क्रममा देशकै महत्वपूर्ण प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रतिष्ठानदेखि व्यक्तिका निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी भएको थियो । जेनजी आन्दोलनमा आगजनी, तोडफोड, लुटपाट लगायतका आपराधिक कार्यमा संलग्न भएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जेनजी आन्दोलनपछि मंगलबारसम्म १५९ जना काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेकाहरूको विगतबारे प्रहरीले अध्ययन गर्दा ७० प्रतिशत व्यक्तिको आपराधिक पृष्ठभूमि देखिएको छ । मंगलबारसम्म परिसरको हिरासतमा ८२ जना छन् । बाँकी भने केही तारेखमा छुटेका छन्, केहीको अदालतमा मुद्दा गएर आदेश समेत भइसकेको छ । पक्राउ पर्नेहरूमा हत्यादेखि, चोरी, हातहतियार खरखजना, कर्तव्य ज्यान, आपराधिक उपद्रव, अभद्र व्यवहारसम्मका आरोपी र अभियुक्तहरू छन् । यति सम्म कि प्रहरी बर्दी खोल्न लगाउँदै खोलैखोला लखेट्ने गौतम घिसिङ चेक बाउन्सका अभियुक्त रहेको खुल्यो । घिसिङमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ । वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका आपराधिक पृष्ठभूमि भएका अर्का नुवाकोटका समीर श्रेष्ठले त प्रहरीकै पेस्तोल खोसेर पड्काउँदै हिँडे । लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउन्ड गोली सहित पक्राउ परेका उनलाई अभद्र व्यवहारको मुद्दा लगाएको छ । सिंहदरबारमा एसएलआर ताक्ने एसएलआर ताक्ने ललितपुरका सम्राट भनिने राजु परियारको ज्यान मार्ने उद्योगसहित ८ वटा मुद्दा चलेको रेकर्ड नै भेटिएको छ । कति त प्रहरी हिरासतमै रहेका बेला निस्केर आन्दोलन र आगजनीमा सामेल भएको देखियो ।
पक्राउ पर्नेहरू चेक बाउन्सदेखि जघन्य अपराधमा मुद्दा चलेका व्यक्तिहरु संलग्न हुनुले आन्दोलनमा घुसपैठ र योजनाबद्ध षड्यन्त्र भएको प्रष्ट देखिएको छ । जेनजी आन्दोलनमा तोडफोड, आगजनी, लुटपाट गरेको आरोपमा देशभरमा अहिलेसम्म ३७५ जनालाई पक्राउ गरिएको गृह मन्त्रालयको तथ्यांक छ । जसमध्ये १४१ वटा मुद्दा दर्ता भएका छन् । कोशी प्रदेशमा ३० जना, मधेशमा २१ जना, बागमतीमा ३३ जना, गण्डकीमा ३२ जना, लुम्बिनीमा २९ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये अधिकांश पहिले नै आपराधिक कार्यमा संलग्न भएको विषय गम्भीर छ । यसमा प्रहरीले गहिरो अनुसन्धान गर्नुपर्छ । गृहमन्त्रालय आन्दोलनमा सहभागीको नाममा पक्राउ नगर्न निर्देशन दिने र पक्राउ परेकालाई पनि छुटाउने कार्य गरिरहेकोमा आलोचना पनि भइरहेको छ । अतः आन्दोलन र अपराधलाई सरकारले छुट्याएर हेरिनु पर्छ । नत्र यसले थप आपराधिक कार्य र अराजकतालाई प्रश्रय दिनेछ । जसले भोलिका दिनमा मुलुकले थप क्षति बेहोर्ने स्थिति आउने छ ।
