बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा अहिले सम्म रु.एक करोड ६५ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ ।
महायज्ञमा सोमबार मात्रै रु. ५५ लाख ५४ हजार रकम संकलन भएको थियो । यस्तै आइतबार रु.३८ लाख संकलन भएको थियो ।
महायज्ञमा सोमबार बागलुङ नगरपालिका–८ सिगाना वासीको तर्फबाटमात्रै रु.१६ लाख रकम संकलन भएको थियो । वडा कार्यालयको संयोजनमा एक कोठा निर्माणका लागि रु. ५ लाख ११ हजार, आमा समूह, अन्य व्यक्तिगत तर्फबाट समेत रु. ११ लाख रकम संकलन भएको थियो ।
यस्तै बागलुङ नगरपालिका–२ निवासी कल्याण किरण श्रेष्ठ र मिना श्रेष्ठले स्व. हजुरबुवा गणेशबहादुर श्रेष्ठ तथा स्व. हजुरआमा मुबा कुमारी श्रेष्ठको स्मृतिमा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक कोठा निर्माण बराबरको रकम रु. ५ लाख ११ हजार सहयोग गर्नुभएको थियो । महायज्ञमा पाँच हजार देखि पाँच लाख ११ सम्म रकम संकलन भइरहेको छ । महायज्ञमा रु. १० करोड संकलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गक्ष्य अनुसारको दान गरिरहेको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
सडकआश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ । देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ कात्तिक २८ गते सम्म चल्नेछ ।