• २०८३ मंसिर ५, शुक्रबार
  • 2026 November 20, Friday

आश्रम बनाउन महायज्ञ मार्फत रु.५ करोड ८२ लाख संकलन

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा अहिले सम्म रु.५ करोड ८२ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञमा बिहिबारमात्रै रु. एक करÞोड ६२ लाख संकलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो । महायज्ञमा बुधबार रु. एक करोड ५४ लाख ३४ हजार सहयोग संकलन भएको थियो । यस्तै मंगलबार रु. एक करोड एक लाख रकम संकलन भएको थियो । सोमबार रु.५५ लाख ५४ हजार रकम संकलन भएको थियो । यस्तै आइतबार रु.३८ लाख संकलन भएको थियो ।

बागलुङ, पर्वत, म्याग्दी लगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले पनि अनलाइनमार्फत सहयोग गरिरहेका छन् ।

एक कोठा निर्माणका लागि रु. ५ लाख ११ हजार संस्थागत रुपमा समेत प्राप्त भइरहेको छ । महायज्ञमा पाँच हजार देखि छ लाख ११ हजारसम्म रकम संकलन भइरहेको छ । महायज्ञमा रु. १० करोड संकलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गक्ष्य अनुसारको दान गरिरहेको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ कात्तिक २९ गते सम्म चल्नेछ ।