• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुङमा प्रभावकारी बन्दै वैदिक गाई संरक्षण

बागलुङ । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दु धर्ममा भगवानको स्वरुप मानेर पुजा गरिदँै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्रनै सञ्चालन गरेर पालिएको हो ।
२०७२ सालमा जिल्ला प्रशासन कार्यालय बागलुङमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको हो ।

अनन्तश्री विभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो । २०७२ सालमा पर्वत जिल्लाको जलजला गाउँपालिका ७ स्थित धाइरिङको गण्डकी गोपाल गौशालाबाट १ वटा गाई हेलिकप्टरमा ल्याएर सुरुवात गरिएको गौवंश संरक्षण केन्द्रमा यतिबेला १ वटा साँढे सहित ५७ वटा गाई रहेका छन् ।

स्थानीयको निशुल्क प्राप्त ८२ रोपनी जमिनमा करिब ८ लाखका संरचना निर्माण गरिएको छ । स्थानीय प्रजातिका वैदिक गाई संरक्षण मात्र होइन्, गाईको गउँत प्रशोधन गरेर आयुर्वेद औषधी बनाउने तयारी समेत गरिएको संरक्षण केन्द्रका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले बताउनु भयो ।

“संरक्षण केन्द्रका गाई बिहान एक पटक मात्र दुहिन्छ, त्यो पनि बाच्छाबाच्छी अघाएपछि, यहाँका बाच्छाबाच्छी दाम्लोमा बाँधिन्न, २४सै घण्टा खुल्ला छोड्छौँ” अध्यक्ष आचार्यले भन्नुभयो “संरक्षण केन्द्रका परिकल्पनाकार मुक्तिनाथ बाबाको इच्छा अनुसार बाच्छाबाच्छी अघाए पछिमात्र बिहान एकछाक दुध दुहुने हो साँझमा दुहुने चलन छैन् ।”
थोरै थेरै भएको दुध घ्यू पुजापाठमै प्रयोग हुन्छ । पछिल्लो समय गाउँघरमा जर्सी गाई पाल्नेहरु बढ्दै छन् । स्थानीय प्रजातिका गाई देख्नै मुस्किल छ । संरक्षण केन्द्रमा स्थानीय प्रजातिका गाई संख्या बढ्दै जाँदा धार्मिक पर्यटकको संख्या समेत बढ्दै छ । बागलुङको पञ्चकोट घुम्न जाने अधिकाशं पर्यटकहरु गौवंश संरक्षण केन्द्रमा समेत पुग्न थालेको पञ्चकोट विकास परिषद बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले बताउनु भयो ।

गाउँघरमा गाई पाल्नै छोडे संरक्षण केन्द्रका अध्यक्ष आचार्यले भन्नुभयो तिहारको गाईपुजामा गाई पुज्नेहरुको भीडनै लाग्नयो, डेढ लाख त भेटी मात्र उठ्यो । एकैठाउँमा स्थानीय प्रजातिका धेरै गाई भएपछि तिहारमा मात्र होइन अन्य समयमा पनि पाढ, पुजा, वैतरणी गर्न आउनेहरुको संख्या बढ्न थालेको छ । गाईको गउँत समेत लिन आउनेहरुको संख्या बढ्दो छ ।

यहाँका गाईलाई कृतिम गर्भाधान गराउँन पाइदैन । गाइको गोबरबाट निकट भविष्यमा धुप निर्माण गर्ने योजना रहेको अध्यक्ष आचार्यको भनाई छ । गौवंश संरक्षण केन्द्र पञ्चाकोट विकास परिषदको सहयोगमा चल्दै आएको छ । गाईको रेखदेख र हेरचाहका लागि ५ जना गौसेवक खटिएका छन् ।

घाँस काट्ने, गोबर सोर्ने, दाना पानी खुवाउने काममा खटिने गौसेवकलाई पारिश्रमिक समेत पञ्चकोट विकास परिषदले उपलब्ध गराउँदै आएको छ । संरक्षण केन्द्रका गाईलाई बागलुङ नगरपालिकासँगै काठेखोला, जैमिनी र पर्वतबाट समेत स्थानीयले निशुल्क पराल उपलब्ध गराउँदै आएका छन् ।