• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

म्याग्दीको पात्लेखेतमा उदाएका युवा उद्यमी हरि गर्बुजा

बागलुङ । म्यागदीको बेनी नगरपालिका वडा नम्बर १० पात्लेखेतका हरि गर्बुजालाई आजभोली सबैले युवा उद्यमीको रुपमा चिन्छन् ।

३७ वर्षीय गर्बुजाले गाउँमै फर्निचर उद्योग, तरकारी खेतीसँगै ब्लक उद्योग पनि सञ्चालन गर्नु भएको छ ।

उहाँले फर्निचर सञ्चालन गरेको ६ वर्ष भयो । तरकारी लगाएर बेच्न थालेको ५ वर्ष । यहि कात्तिक ३० गतेदेखि नयाँ व्यवसायको रुपमा ब्लक उद्योगसमेत सञ्चालनमा ल्याउनु भएको छ ।

उहाँका उद्योग र तरकारी खेतीमा गरेर अहिलेसम्म २१ लाख रुपैयाँ लगानी पुगको छ । १२ लाख लगानी गरेर ट्याक्टर समेत खरिद गर्नु भएको छ ।

स्थानीयले नयाँ घर बनाउँदा होस वा विवाह पुजाआजा गर्दा होस हरीकै फर्निचरको समाम प्रयोग गर्छन् । उहाँकै बारीको तरकारी उपभोग गर्छन् ।

मौसमी मात्र होइन् बेमौसी तकारी समेत फलाउँदै आएको गर्वुजाको बारीमा यतिबेला आलु, लसुन, मुला फलेका छन् । २ वटा टनेलमा पुस अन्तिममा पाक्ने गरी टमाटर फलेका छन् ।

उहाँले तरकारी खेती गर्नका लागि स्थानीयको १० रोपनी जग्गा ५ वर्षका लागि बन्धकी लिनु भएको छ । व्यवसायमा श्रीमती विष्णु पुन गर्बुजाको साथ र सहयोगलेनै अगाडी बढ्ने प्रेरणा मिल्ने गरेको हरीको भनाई छ । आफूभन्दा पनि आफ्नी श्रीमती बढी मेहनती रहेको भन्दै उहाँले उनकै सहयोगमा उद्यम सञ्चालन गरि रहेको बताउनु भयो ।

फर्निचर र ब्लक उद्योगमा ४ जनालाई रोजगारी दिनु भएको छ । २०७६ सालमा रोजगारीका लागि अफगानस्तान पुगेका गर्बुजा स्वास्थ्यमा समस्या भएपछि ८ महिनामै नेपाल फर्कनु भएको थियो । विदेश जाँदा लागेको ऋण समेत घर फर्किएपछि कृषी गरेरै तिरेको उहाँको भनाई छ ।
विदेशबाट फर्किएपछि कुखुरा पाल्न सुरु गरेका गर्बुजाले फ्रेस हाउस समेत सञ्चालन गर्नु भएको थियो । विस्तारै व्यवसायलाई विस्तार गर्दै गएको उहाँको भनाई छ ।

यो सिजनमा मात्र २ सय केजी मुला विक्री गरिसकेको उहाँले बताउनु भयो । उहाँको बारीमा अझै २ सय ५० केजी मुला विक्रीका लागि तयार छ । ७० केजी अकबरे खुर्सानी बेचेको बताउने गर्बुजाले अन्य प्रजातीको खुर्सानी १ सय केजी विक्री गरेको बताउनु भयो । पुस मसान्तमा तयार हुने आलु उहाँको बारीमा छ । यसवर्ष १० कुइन्टल आलु उत्पादन हुने अनुमान गरेको उहाँले बताउनु भयो ।

गर्बुजाले आफ्ना व्यवसायलाई दर्ता गर्नु भएको छ । उहाँका लप्सन र दिप्सन दुई छोरा छन् । छोराहरुकै नाममा लप्सन एण्ड दिप्सन फर्निचर उद्योग र कृषि फम दर्ता गरेको उहाँले बताउनु भयो । ब्लक उद्योग दर्ताको प्रक्रियामा अगाडी बढेको छ । फर्निचर र तरकारी खेतीबाट ठ्याक्कै यत्ति आम्दानी हुन्न भन्ने एकिङ नभएपनि कर्मचारीलाई तलब र अन्य सबै खर्च कटाएर वार्षिक ४ लाख भन्दा बढी बचत गर्ने गरेको उहाँले बताउनु भयो ।

फर्निचरको आम्दानी राम्रै भएपनि तरकारी खेतीबाट भएको आम्दानीमा भने गर्बुजालाई सन्तुष्टी छैन् । उत्पादन गरेको तरकारीका लागि बजार अभाव नभए पनि बजार मुल्य भने चित्त बुझ्दो नभएको उहाँको भनाई । किसानसँग न्यून मुल्यमा लिएर व्यापारी दोब्बर नाफा खाएर बच्ने गरेको उहाँले बताउनु भयो ।