• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

विद्यार्थीलाई रचनात्मक गराउन विद्यालयमा भित्ते पत्रिका प्रकाशन

म्याग्दी । विद्यार्थीलाई सिर्जनशिल बनाउँन म्याग्दीको विद्योदय माध्यामिक विद्यालयले भित्ते पत्रिका प्रकाशन गर्दै आएको छ । प्रत्येक महिना प्रकाशन गर्ने गरि जेठ महिनाबाट विद्यालयमा गठित बाल क्लबको सक्रियतामा भित्ते पत्रिका प्रकाशन गरिदै आएको हो ।

‘दि भ्वाइस अफ विद्योदय’ नामक भित्ते पत्रिकामा विद्यार्थीले लेखेका लेख, रचना प्रकाशित हुन्छन् । बेनी नगरपालिका वडा नम्बर १० वाखेत स्थित विद्यालयले विद्यार्थीद्वारा ड्रईङ पेपरमा हातैले समाचार, चित्र र साहित्यमूलक मासिक प्रकाशन गर्दै आएको विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुभयो ।

सामुदायीक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण वृद्धि गर्न, विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्दै रचनात्मक क्रियाकलापमा प्रोत्साहित गर्न मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको प्रधानाध्यापक प्रकाश अधिकारीले बताउनु भयो ।

विद्यालयले अहिलेसम्म ७ अंक प्रकाशित गरि सकेको छ । जसमा फरक फरक विद्यार्थीले कोरेका चित्र, शिक्षा, विद्यालय र विद्यार्थी सम्बन्धी लेखेका लेख, आलेख तथा रचना र हरेक शुक्रबार बाल क्लबद्वारा आयोजना गरिने कार्यक्रमका समाचार प्रकाशित भएका छन् ।

विद्यार्थीलाई पुस्तकका विषयवस्तु मात्र नपढाएर अन्य विषयमा समेत क्रियाशिल र रचनात्मक बनाउने उद्देश्यले राखिएको उहाँले बताउनु भयो । प्रधानध्यापक अधिकारीले बालबालिकालाई संस्कारयुक्त गुणस्तरीय शिक्षाका साथै विद्यार्थीको चौतर्फी विकासका  भित्ते पत्रिका प्रकाशन सँगसँगै विद्यालयले रचनात्मक काम गर्दै आएको बताउनु भयो ।

यहाँका विद्यालयर्थीले पत्रिकाको लागि नेपाली तथा अङ्ग्रेजी दुबै माध्यममा आफ्ना लेख तथा रचना तयार गर्ने गरेको बाल क्लबका अध्यक्ष सुप्रिया पाइजाले जानकारी दिनुभयो ।