म्याग्दी । म्याग्दी र मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु प्राय भरिभराउ हुने समयमा राउण्ड अन्नपुर्ण पदमार्ग भित्र पर्ने नारच्याङ झरना पर्यटकको आगमनको पर्खाइमा रहन्छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित यस झरनाले पर्यटकलाई खुब लोभ्याउँछ । अग्लो पहाडको टुप्पोबाट कलकल झर्ने सङ्लो पानी निकै सुन्दर, आकर्षक अनि मनमोहक देखिन्छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुले झरनालाइ पृष्ठभूमिमा पारेर तस्बीर खिच्नका लागि भए पनि केही समय त्यस क्षेत्रमा विताउने गर्दछन् ।
३ सय मिटर माथिबाट झर्ने झरना समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित छ । झरना कहिले देखि बन्यो भन्ने तर्फ भन्दा पनि नारच्याङमा मानव वस्ती सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै झरना रहेको स्थानीयको अनुमान छ । फरक विशेषता बोकेको यस झरनामा म्याग्दी, बागलुङ, मुस्ताङ र पोखरासहित विदेशबाट आउने पर्यटकहरुले पनि यस क्षेत्रमा आएर तस्बीर खिच्ने तथा प्रकृतिक सुन्दरतामा रमाउने नारच्याङकी नरिमाया पूर्जाको भनाई छ ।
राष्ट्रिय महत्वको बेनी–जोमसोम–कोरला सडकखण्डबाटै देखिने तथा नजिकमा पर्ने भएकाले बेनी जोमसोम सडक खण्डमा यात्रा गर्ने अधिकांश पर्यटकहरु नारच्याङ झरनामा पुगेर रमाउने गर्दछन् । पर्यटकलाई लक्षित गरेर नारच्याङ गाउँमा होमस्टे समेत सञ्चालन गरिएको छ । नारच्याङ झरनाभन्दा माथि मानव वस्ती छैन । झरनाको मुल देखि नै मानविय असर नभएको हुँदा झरनामा कृतिम फोहोर नपरेकोले सफा रहेको छ । झरनाको तल फेदीमा भुमेको थान (मन्दिीर) बनाइएको छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप रौनकता थपिदिएको छ । वर्षको एकपटक भुमेथानको मन्दिरमा पुजा गर्ने गरिन्छ । यो मन्दिरमा बोका र कुखुराको भालेको बलि दिइन्छ ।
नेपालकै चर्चित मध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको रुप्से र अन्नपूर्ण–४, नारच्याङको नारच्याङ झरनालाई मानिन्छ । रुप्से झरना रुप्सेको नजिकमा पुगेपछि मात्रै देख्न सकिन्छ । तर, नारच्याङ झरना भने अलिक टाढै बाट पनि देख्न सकिने भएकाले यसलाई सबैले महत्वका साथ हेर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र भित्र पर्ने नारच्याङका पर्यटन अगुवा तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।
बेनी–जोमसोम सडकखण्ड र त्यस आसपासको क्षेत्रबाट अवलोकन तथा फोटोसेसन गर्न सकिने भएकाले यस झरनामा पुग्न पर्यटकहरुलाई सहज र सजिलो छ । नारच्याङको बेंसी गाउँबाट आधा घण्टाको पैदल दूरीमा पुग्न सकिने उक्त झरनाले हाल सम्म कुनै पनि अन्य क्षती गराएको छैन ।
पर्यटकीय, धार्मिक एवं ऐतिहासिक क्षेत्रको विकास र प्रवद्र्धनका लागि जोड दिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।
यसै वर्ष अन्नपुर्ण हिमाल आरोहणको वार्षिकोत्सव मनाउने क्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको नारच्याङ आगमनले पनि अन्नपूर्ण क्षेत्र र नारच्याङ झरनाको महत्वलाई अझ बढाएको अन्नपूर्ण गाउँपालिका अधयक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार नारच्याङ झरना पर्यटकीय स्थल मात्रै नभएर पहिचान पनि हो । यस क्षेत्रको विकासका लागि अन्नपूर्ण हिमाल, नारच्याङ झरना, अन्धगल्छी, मोहरेडाँडा, रुप्से झरना लगायतका धेरै पर्यटकीय महत्वका स्थलहरु छन् । बेनी जोमसोम सडक खण्ड देखि नजिकै पर्ने नारच्याङ झरना पर्यटकका लागि नजिक रहेकोल पनि धेरै आकर्षित गर्ने गरेको छ ।