बागलुङ । नेकपा एमालेको एघारौ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा सचिव पदका लागि बागलुङका इन्द्रलाल सापकोटा उमेदवार बन्नु भएको छ ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल नेतृत्वको टिम बीच प्रतिस्पर्धा हुने भएको छ । पोखरेल प्यानलबाट बागलुङका सापकोटा सचिव पदमा उमेदवार बन्नु भएको हो । नेकपा एमाले निर्माणमा ४ दशक भन्दा बढी समयदेखि सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका सापकोटा एघारौ महाधिवेशनबाट केन्द्रीय सचिव बन्ने गरी उमेदवार बन्नु भएको हो ।
२०५४ सालमा भएको स्थानीय निर्वाचनमा मालिका गाविसको अध्यक्ष भएका सापकोटा २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट राजनीतिक यात्रा शुरु गरेका सापकोटाले पार्टीको गाउँ कमिटि, क्षेत्रीय कमिटि, जिल्ला कमिटिको नेतृत्व गर्दै युवा संघ नेपालको केन्द्रीय महासचिवको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नु भएको छ ।
२०५४ मा एमाले विभाजन हुदा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुमध्ये धेरै जना नेकपा मालेमा आवद्ध हुदा सापकोटा एमाले जोगाउन कम्मर कसेर लाग्नु भएको थियो । २०७८ भदौ नेकपा एमाले विभाजन भएर नेकपा एस बन्दै गर्दा गण्डकी प्रदेशसभामा सापकोटालाई नेकपा एसमा लागेपछि प्रदेशको महत्वपूर्ण मन्त्री बनाइदिने अफर थियो ।
तत्कालिन मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसंगको छलफलका क्रममा सापकोटाले मन्त्री होइन, पार्टी रोज्ने भन्दै एमालेमै बस्नु भएको थियो । निरन्तर एमाले निर्माणमा जुटेका सापकोटाले यस पटक महाधिवेशन प्रतिनिधिहरुले आफुलाई साथ दिने अपेक्षा गर्नु भएको छ ।