• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

राष्ट्रिय सहकारी महासंघको चीन भ्रमण, ई–कमर्स र बजारिकरणमा सहकार्यको पहल

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको नेतृत्वमा गएको एक उच्चस्तरीय टोलीले चीनको भ्रमण सम्पन्न गरेको छ । अल चाइना फेडरेसन अफ सप्लाइ एन्ड मार्केटिङ कोअपरेटिभको औपचारिक निमन्त्रणामा पुगेको टोलिले सन् २०२५ डिसेम्बर २२ देखि २६ तारिखसम्म चिन भ्रमण गरेको थियो ।

भ्रमणका क्रममा सप्लाइ एन्ड मार्केटिङ क्षेत्रमा सहकारीमार्फत चीनमा विकास गरिएका संरचना, प्रविधि र व्यवस्थापनका असल अभ्यासहरू नेपालमा समेत लागू गर्न सकिने विषयमा गहन छलफल भएको महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले बताउनुभयो । सहकारीमार्फत किसानका उत्पादनलाई बजारसँग जोड्ने चीनको अनुभव नेपालका लागि उपयोगी हुने उहाँको भनाइ छ ।

टोलीले बेइजिङस्थित अल चाइना फेडरेसन अफ सप्लाइ एन्ड मार्केटिङ कोअपरेटिभको केन्द्रीय कार्यालयमा दुई पक्षीय वार्ता समेत गरेको थियो । वार्तामा चीनतर्फबाट उपाध्यक्ष छु ग्वाङहोङ, इन्टरनेशनल कोअपरेसन डिपार्टमेन्टका निर्देशक कोङ सान, चाइना सप्लाइ एन्ड ट्रेड ग्रुपका अध्यक्ष झु यानडोङ, नायव निर्देशकहरू फान हुकइ र वाङ ली, डिभिजन चिफ झयाङ सियाहोङ तथा कार्यक्रम अधिकृत वाङ म्यान सहभागी हुनुहुन्थ्यो ।

नेपालतर्फबाट महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेल, लेखा सुपरिवेक्षण समितिका संयोजक भिमप्रसाद तुलाचन, संचालकहरू हुमाकुमारी जिसी, परितोष पौड्याल, सुमन नेपाल, पार्वती न्यौपाने, योगमाया सुवेदी तथा कार्यक्रम अधिकृत अमित अधिकारीको सहभागिता रहेको थियो । त्यसैगरी सहकारीकर्मीको टोलीले नानजिङस्थित झाङ्सु प्रादेशिक सहकारीको अवलोकन भ्रमण गर्दै स्थानीय नेतृत्वसँग दुई पक्षीय वार्ता गरेको थियो ।

किसानले उत्पादन गरेका वस्तुको संकलन, प्रशोधन र बजारीकरणमा प्रविधिको अधिकतम प्रयोग तथा ई–कमर्समार्फत अपनाइएका प्रभावकारी अभ्यासहरूबाट नेपालले समेत प्रत्यक्ष लाभ लिन सक्ने महासंघका संचालक परितोष पौड्यालले उल्लेख गर्नुभयो ।

छलफलका क्रममा नेपालका सहकारीहरूले उत्पादन गरेका वस्तुहरू चीनमा बजारीकरण गर्न ‘कोअपरेटिभ टु कोअपरेटिभ बिजनेस’ अवधारणामा सहकार्य गर्ने विषयमा समेत सहमति जुटाउने प्रयास भएको थियो । साथै नेपालमा सहकारीमार्फत ई–कमर्स सञ्चालन गर्न चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

भ्रमणका क्रममा टोलीले सहकारीद्वारा प्रवद्र्धित सुपरमार्केटहरूको अवलोकन गर्दै सहकारीको व्यवसायिक भूमिका र बजार व्यवस्थापनबारे जानकारी लिएको थियो ।