• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार : बागलुङ तरंगित

  • २०८२ पुष १५, मंगलवार

बागलुङ । चुनाव र आन्दोलनले नेतृत्वको पहिचानसंगै संभावनाका ढोकाहरु खोलिदिन्छ । हरेक आन्दोलनले एउटा नयाँ सन्देश दिएको हुन्छ । व्यवस्था परिवर्तनसंगै नेपालमा भएका विभिन्न आन्दोलनहरुले राजनीतिलाई नयाँ बाटोमा अगाडि बढाएको छ । नेपालको सन्दर्भमा राजनीतिले सामाजिक क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको छ, आर्थिक क्षेत्रको परिवर्तनका लागि अबको राजनीति केन्द्रीत हुुनुपर्छ । २०६२/०६३ को जनआन्दोलनले समावेशी लोकतन्त्रको मान्यता अगाडि बढायो ।

राज्यका नीति निर्माण गर्ने तहमा राजनीति बाहेक अन्य क्षेत्रमा व्यक्तिहरुको पनि सहभागिता हुनु पर्छ भन्ने मान्यतालाई अन्तरिम संविधान २०६३ र संविधानसभा मार्फत बनेको संविधान २०७२ ले स्थापित गरेको छ । त्यही मान्यता अनुसार मुलुकको नीति निर्माण गर्ने महत्वपूर्ण स्थानका रुपमा रहेको प्रतिनिधिसभा र राष्ट्रिय सभामा राजनीतिमा सक्रिय भएका बाहेक अन्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेका र समाज रुपान्तरणमा थप योगदान गर्न सक्नेहरुलाई सहभागी गराउन थालिएको हो । यसै सन्दर्भमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ११० जना समानुपातिक सांसद पदका लागि राजनीतिक दलहरुले सोमबार समानुपातिक तर्फका उमेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन् । यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा जन्मिएर, हुर्किएर मुलुकको गित संगित र चलचित्र क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल कलाकार प्रकाश सपुतलाई समानुपातिक उमेदवार बनाएको छ । रास्वपाले दलित कलष्टरको दोस्रो नम्बरमा प्रकाश सपुतको नाम राखेर समानुपातिक उमेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

प्रकाश सपुतसंगै पत्रकार प्रकाशचन्द्र परियार सहित ११० जनाको लिष्ट रास्वपाले बुझाएको हो । बागलुङको धम्जा २०४६ सालको परिवर्तन पछि नेकपा एमालेको किल्लाका रुपमा स्थापित छ, स्वयं प्रकाश सपुतको परिवार पनि एमालेलाई माया गर्ने, एमाले प्रति सद्भाव राख्नेमा पर्दछ । प्रकाश सपुतले करियर शुरु गर्ने समयमा रेडियो र पत्रिकामा काम गर्दा प्रेस चौतारीको सदस्य हुनुहुन्थ्यो । राजनीतिमा चासो नराख्ने, आफ्नो पेशामा पूर्ण रुपमा संलग्न रहेका व्यक्तित्वहरुलाई समानुपातिक र राष्ट्रिय सभामा लैजाने दलहरुको विगतके परम्परा हो, यद्यपी पुराना दलहरुले समानुपातिकका नाममा ठुला नेता, आफन्तजन, वरिपरी घुम्नेहरु र चुनावमा पैसाको व्यवस्थापन गरिदिनेहरुलाई प्रतिनिधित्व गराएको भन्दै कार्यकर्ता र जनताको गुनासो पनि बेला बेला मुखरित हुने गरेको छ । कलाकारिता क्षेत्रबाट रास्वपाले प्रकाश सपुतलाई समानुपातिक उमेदवार बनाएपछि सपुतको गृह जिल्ला बागलुङ र जन्मगाउ काठेखोला तरंगित भएको छ ।

जनता हरेक निर्वाचनमा परिवर्तन चाहन्छन्, राजनीतिक दलहरुको मुल नेतृत्व परिवर्तन गर्नु पर्छ भन्ने दलका तल्लो तहका कार्यकर्ता र जनताको आवाज दलका प्रतिनिधिहरुले फेरी पनि बुझ्न सकिरहेका छैनन् । जेन जी आन्दोलनले यथास्थितिमा राजनीति अगाडि बढ्न नसक्ने सन्देश दिएको छ, तर प्रमुख दलहरु मुल नेतृत्वलाई सम्मानपूर्वक विदाई गर्न तयार छैनन् ।

  • २०८२ पुष १५, मंगलवार