• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

न्यू धवलागिरी बचत तथा ऋण सहकारी इकाइ सभा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ८ न्यू रोडमा रहेको न्यू धवलागिरी बचत तथा ऋण सहकारी संस्थाले पुस १० देखि सुरु भएको साधारणसभा अन्तरगत ६ वटा केन्द्रमा कार्यक्रम सकेको छ ।

मंगलबार बेनी केन्द्रमा साधारणसभा गरे सँगै अब एउटा सेवा केन्द्रको साधारणसभा बाँकी रहेको छ ।

सहकारीले दरवाङ सेवा केन्द्रको दरवाङमा, तातोपानी सेवा केन्द्रको तातोपानीमा, अन्नपूर्ण सेवा केन्द्रको घारमा, बाबियाचौर सेवा केन्द्र बाबियाचौर, धौलागिरी सेवा केन्द्रको मुनामा र बेनी सेबा केन्द्रको साधारणसभा बेनीमै सम्पन्न गरेका छ । माल्लाज सेवा केन्द्रको साधारणसभा पछि १९ गते सहकारीको केन्द्रीय कार्यालय बेनीमा इकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा हुने सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरेक इकाइ सभाबाट छनोट भएका प्रतिनिधिहरुको सभाबाट निर्णय प्रमाणित गर्नुका साथै नयाँ सञ्चालक समिति पनि चयन हुनेछ । यस पटकको साधारणसभामा हुने निर्वाचनबाट नै नयाँ समिति चयन हुने उहाँको भनाई छ ।

म्याग्दीकै पुरानो मध्येको एक न्यू धवलागिरी बचत तथा ऋण सहकारी संस्था २०५६ चैत ९ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भएको संस्था हो । हाल सात हजार नौ सय एक जना शेयर सदस्यहरुबाट कुल ८ करोड ५० लाख ७५ हजार ७ सय रुपियाँ शेयर पुँजी जम्मा भएको छ । सहकारीले २०५६ सालमा सात लाख २५ हजार रुपियाँ शेयर पुजी देखि सेवा थालनी गरेको संस्थाका सचिव चन्द्रकमार केसीले जानकारी दिनुभयो ।

सहकारीमा आर्थिक वर्ष २०८१।०८२को अन्तिम सम्ममा ५३ करोड १४ लाख ७८ हजार चार सय ७९ रुपियाँ बचत जम्मा गरेर ५२ करोड १२ लाख ९१ हजार आठ सय ७३ रुपियाँ ऋण लगानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारीमा ३५ जना कर्मचारीले ७ वटा सेवा केन्द्रबाट सदस्यहरुलाई सेवा दिइ रहेका छन् ।